युगाण्डादेखि न्यूजिल्याण्डसम्मको दूध पिउँछन् नेपाली



काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँका ७० प्रतिशत बढी जनता कृषि पेशामा आवद्ध छन् । तर वार्षिक ४ अर्ब भन्दा बढीको दुध तथा दुधजन्य वस्तुको आयात हुने गरेको छ ।

नेपालमा हरेक वर्ष मिल्क होलिडे मनाइन्छ , किसानले उत्पादन गरेको दुध सडकमा पोख्नुपर्ने वाध्यता छ । किसानले सरकारलाई गाली गर्दै सडकमा दुध पोखेको दृश्य सभ्य समाजका लागि स्वीकार गर्नै नसकिने विषय हो । तर भारतीय बजारबाट धुलो दूध आयात गरेर नेपाली किसानलाई मार्ने प्रवृत्ति कायमै रहेको छ । त्यही मात्रै होइन नेपाली ठुला दूध उद्योगीहरु स–साना दूध व्यावसायी माथि खनिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले वार्षिक ४ अर्ब बढीको दुध तथा दुधजन्य पदार्थको आयात भइरहेको बताए ।
‘नेपालका किसानले दुध सडकमा पोख्नुपर्ने तथा विदेशबाट दुध आयात भइरहेको छ । यो राम्रो कुरा हैन’, मन्त्री यादवले भने ।

कृषि, भूमिव्यवस्था मन्त्री चक्रपाणी खनालकाअनुसार पनि नेपालमा वार्षिक रुपमा दुध तथा दुधजन्य पदार्थको आयातको मात्रा बढी भएको बताउँछन् ।
भन्सार विभागकाअनुसार चालु आवको ११ महिनामा मात्रै १ अर्ब ७० करोड १२ लाख बराबरको दुध मात्रै आयात भएको छ । यस्तै दुधजन्य अन्य पदार्थको आयातको मात्रा ३ अर्ब माथि रहेको छ ।

नेपालमा आयात हुने दुधमा भारतको मात्रा बढी रहेको छ । भारतबाट ७४ प्रतिशत दुध तथा दुध जन्य पदार्थको आयात भएको छ । यस्तै बेल्जियमबाट ७ प्रतिशत, न्यूजिल्याण्डबाट ६ प्रतिशत, पोल्याण्डबाट ४ प्रतिशत र युगान्डाबाट ३ प्रतिशत दुध तथा दुधजन्य पदार्थ आयात भएको छ ।

विशेष गरी काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका किसनाले पटक पटक मिल्क होलिडेको मारमा परेका छन् । यस्तै नेपालकै बढी दुध उत्पादन हुने जिल्लाको रुपमा चिनिएको इलाम, झापालगायतका जिल्लाका किसानले दुध सडकमा पोख्ने गरेका छन् ।

एकतिर किसानले दुध सडकमा पोख्नुपर्ने, अर्कोतिर राजधानीका उपभोक्ता प्रदूषित दुध सेवन गर्नुपर्ने वाध्यतामा रहेका छन् ।

भन्सार विभागकाअनुसार आव २०७०-७१ मा १ अर्ब ५६ करोड २८ लाखेको दुध मात्रै आयात भएको छ । यस्तै अन्य दुधजन्य पदार्थको मात्रा सो आवमा २ अर्ब बढीको रहेको थियो । आव २०७१-७२ मा १ अर्ब ६६ करोड ८६ लाखको दुध आयात भएको थियो ।

यस्तै २०७२-७३ मा १ अर्ब १५ करोड ४४ लाख, आव २०७३-७४ मा १ अर्ब ८६ करोड ५७ लाखको दुध आयात भएको थियो ।

नेपालमा आयात हुने दुधमा भारतको मात्रा बढी रहेको छ । भारतबाट ७४ प्रतिशत दुध तथा दुध जन्य पदार्थको आयात भएको छ । यस्तै बेल्जियमबाट ७ प्रतिशत, न्यूजिल्याण्डबाट ६ प्रतिशत, पोल्याण्डबाट ४ प्रतिशत र युगान्डाबाट ३ प्रतिशत दुध तथा दुधजन्य पदार्थ आयात भएको छ ।

कृषिप्रधान देशमा जताततैबाट दुध तथा दुधजन्य पदार्थ आयात भएपनि त्यसलाई नियन्त्रण गर्न सरकारले कुने ध्यान दिन सकेको छैन ।


पुष्प दुलाल