दोलखाबासीलाई माथिल्लो तामाकोशीको अर्ब बढीको सेयर



काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर बढीमा असार २० गतेदेखि बिक्री हुने भउको छ ।

कम्पनीले दिएको जानकारीअनुसार असार १२ गते अर्थात् मंगलबार आइपिओ निस्काशनका बारेमा सार्वजनिक आह्वानपत्र सार्वजनिक गरिने भएको छ ।

बढीमा असार २३ गतेसम्म आइपिओ बिक्री गर्ने तयारी गरिएको छ ।

‘हामीले सबै तयारी गरिसकेका छौ, आइपिओ निस्काशनका लागि’ कम्पनीले भन्यो ‘पहिलो चरणमा आयोजना प्रभावित दोलखाबासीका लागि आइपिओ बिक्री गरिनेछ ।’

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १० प्रतिशत शेयर पहिलो चरणमा बिक्री गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयबाट अनुमति प्राप्त भइसकेको र सेयर बिक्रीको समेत प्रक्रिया मिलाइसकिएको बताइएको छ ।

सो आयोजनाको स्थानीय प्रभावितलाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्न लागिएको छ ।

पहिलो चरणको शेयर बाँडफाँडपछि दोस्रो चरणको निष्कासन हुने छ । स्थानीयबासिन्दालाई १५ दिनभित्र आवेदन दिने गरी व्यवस्था मिलाइएको छ ।

यस्तै सर्वसाधारणलाई १५ प्रतिशत शेयर बिक्री गरिने भएको छ । त्यसमा १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ बिक्री गरिनेछ ।

स्थानीय र सर्वसाधारणलाई माथिल्लो तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको छ ।

कम्पनीले यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । दोलखामा निर्माणाधीन सो आयोजनाको ९६ प्रतिशत निर्माण पूरा भएको छ ।


पुष्प दुलाल