कृषिलाई गौरबको पेशा बनाउनु पर्छ : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा दैनिक झण्डै ५० करोड कृषिजन्य वस्तु आयात भइरहेको बताएका छन् । ६६ प्रतिशत नागरिक कृषि पेशामा आवद्ध रहेपनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान खुम्चिदै गइरहेको उनले बताए ।

आठौँै राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन २०७५ को उद्घाटन समारोहमा बोल्दै उनले पछिल्लो ८ महिनामा नेपालले ३० अर्ब रुपैयाँको खाद्य वस्तु आयात गरेको बताए । उनले भने– ‘कुनै बेला नेपालमा चामल निर्यात गर्ने विभाग नै स्थापना भएको थियो, तर आजको समयमा मकै, गहुँ लगायतका सामाग्री समेत आयात भइरहेको छ ।’

उनले समृद्ध नेपालका लागि नेपाली नागरिक स्वस्थ हुनु पर्ने तर, विषादीयुक्त उत्पादनले मानव स्वास्थ्यमा खराब असर पारिहेको बताए ।

‘हामीसँग पर्याप्त पानीको श्रोत छ, श्रमजीवी जनशक्ती छ, उर्वरभूमि छ, यति हुँदाहुँदै हामी परजीवी हुनुमा ठूलो प्रश्न छ, कहाँ समस्या छ खोज्नु पर्छ, यसमा गम्भीर समीक्षाको खाँचो छ,’ उपराष्ट्रपति पुनले भने ।

यस्तै उनले उत्पादित वस्तुले बजार नपाउने, किसानले उचित मूल्य नपाउने, उपभोक्ताले महंगोमा किन्नु पर्ने जस्ता समस्या कायमै रहेको औंल्याए । यस्ता समस्याका कारण देश आर्थिक रुपमा कमजोर हुँदै गईरहेको उनले बताए ।

‘हामीले समृद्धिको मुख्य आधार मध्ये प्रमुख कृषि क्षेत्र मानेका छौँ, कृषि क्षेत्रमा तीब्र विकासको आवश्यक्ता देखिएको छ, रेमिट्यान्सको भरमा देश चलिरहेको छ, उत्पादनको क्षेत्रमा देश कमजोर भइरहेको देखिन्छ,’ उपराष्ट्रपति पुनले भने ।
कुषि पेशालाई गौरबको पेशा बनाउन नसकिएकोमा उनले चिन्ता व्यक्त गर्दै यसलाई सम्मानको पेशा बनाउन आवश्यक रहेको उनले बताए ।

सोही कार्यक्रमलाई संबोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले २०२२ सालको खाद्य ऐनको संसोधनको प्रस्ताव संसदमा अघि बढाएको जानकारी दिइन् । कृषिमा विषादी न्यूनीकरण गर्नुपर्ने, सही तरिकाले बजारीकरण गर्नु पर्ने र व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले खाद्य ऐनको संसोधनका लागि प्रस्ताव गरिएको बताइन् ।

‘अहिले उत्पादन भएको सामाग्री मध्ये मोटामोटी ३० प्रतिशत सही सदुपयोग भएको छैन, त्यसको लागि स्टोर गर्ने पर्याप्त ठाउँ बनाउन सकिएको छैन, हामी यही आर्थिक वर्षमा उत्पादन व्यवस्थापनका लागि पर्याप्त कोल्ड स्टोरको स्थापना गर्नेछौँ,’ राज्यमन्त्री चौधरीले बताइन् ।

उनले हरेक प्रदेशमा एउटा कोल्ड स्टोर बनाइने जानकारी दिइन् । यस्तै कोल्ड स्टोरहरु बनाउन यही वर्षबाट काम सुरु हुने उनले बताइन् ।

‘नेपालीहरु काम गर्ने भन्दा खुट्टा तान्ने तिर लाग्ने भएकाले अबको समय सबै मिलेर काम गर्न आवश्यक रहेको छ,’ चौधरीले भनिन् ।

यस्तै उपराष्ट्रपति पुनले कृषि प्रणालीको माध्यमबाट स्वच्छ खानाको उत्पादन र गुणस्तरीय उत्पादन गर्न सके समृद्ध नेपाल सुखी नेपाललीको नारालाई सफल पार्न सकिने बताए ।

‘गुणस्तरमा कुनै सम्झौता गर्न सकिदैन, खाद्य उत्पादन गुणस्तरीय भएसँगै विदेशी बजारमा पनि यसको माग हुनेछ, यसले नेपालको बढ्दो घाटालाई केही राहत दिन सक्नेछ,’ उपराष्ट्रपति पुनले भने ।

उनले गुणस्तर उत्पादन गर्दा त्यसलाई तत्काल फाइदा नदेखिने भएपनि त्यसले पछिलाई राम्रो गर्ने बताए ।


क्लिकमान्डु