कहाँ पुग्यो चीनतर्फ ६ नाका खोल्ने काम, तातोपानी खुल्छ कि खुल्दैन ?



काठमाडौं । ०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पछि चीनसँगको नेपालको एकमात्र व्यापारिक नाका ‘तातोपानी’ बन्द भयो । तातोपानी नाका बन्द भएसँगै चीनबाट सीधै नेपाल सामान ओसारपसार हुन छा्ड्यो ।

चीनबाट किनिएका सामानहरु र चीनलाई बेचिएका सामानहरु भारतको बाटो हुँदै ओसार पसार गर्न थालियो ।

०७२ असोजमा नेपालको संविधानसभाले नयाँ संविधान जारी गर्यो । उक्त संविधानमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि अघोषितरुमा नाकाबन्दी गर्यो ।

त्यसबेला नेपालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए भने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री थिए । संविधान संसोधन गर्न भारतीय पक्षले दिएको दबाबलाई नेपाली पक्षले अस्वीकार गर्यो । प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा लगाउँदै भारतसँग नझुक्ने घोषणा गरे । ओलीलाई आम जनताले समर्थन गरे । जसको परिणाम गत निर्वाचनमा देखियो ।

भूकम्पका कारण बन्द भएको तातोपानी नाका कहिले र कसरी खुल्छ ? भन्नेमा अहिलेसम्म सर्वसाधारणले कुनै पनि जानकारी पाएका छैनन् ।

भारतीय नाकाबन्दीकै बेला प्रधानमन्त्री ओली चीन भ्रमणमा गए । चीनसँग ६ वटा नाका खोल्ने सहमतिमा हस्ताक्षर पनि गरे । र, अब भारसँग मात्रै व्यापारमा निर्भर रहनुपर्ने दिन सकिएको घोषणा गरे । विभिन्न स्थानमा नाका खोल्नका लागि सरकारी टोली स्थलगत अध्ययनका लागि गए । धमाधम काम गर्न संसदीय समितिले निर्देशन पनि दिए ।

ओली सरकार ९ महिनामै ढल्यो । त्यसपछि २ वटा सरकार फेरिए । अहिले फेरि ओलीकै नेतृत्वमा सरकार छ । प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा जाँदैछन् ।

तर भूकम्पका कारण बन्द भएको तातोपानी नाका कहिले र कसरी खुल्छ ? भन्नेमा अहिलेसम्म सर्वसाधारणले कुनै पनि जानकारी पाएका छैनन् ।

के यसअघि नै प्रधानमन्त्री हुँदा ओलीले विशेष चासोका साथ चीनसँग नाका खोल्ने भनिएका नाकाहरु यो भ्रमणमा खोल्लान् त ? तातोपानी नाका बन्ब हुँदा नेपालले अर्बौंको ब्यापार गुमाएको छ । प्रधानमन्त्री ओलीले तातोपानी नाका खोल्लान् त ?

यस्तो छ, तातोपानीको भित्रि कथा

तातोपानी नाकामा विशेष गरी चीन विरोधी गतिविधि भएको र स्वतन्त्र तिब्बत पक्षधरहरुले दलाई लामाम लगायतको फोटो राखेको र सार्वभौमसत्ता माथि आक्रामण गरेको जस्तो कारण चिनियाँ अधिकारीले सँधै उठाउने गरेको बताइन्छ ।

द्विपक्षीय वार्तामा सहभागी नेपाली अधिकारीकाअनुसार चीनले स्वतन्त्र तिब्बत गतिविधिको हर्कत रोक्ने विश्वासिलो प्रतिवद्धता नेपाली पक्षसँग खोजेको छ ।

भूकम्पपछि राहत तथा उद्दारमा आएका चिनियाँ अधिकारीले तातोपानी नाकाका घर तथा आवामा दलाई लामाको तस्विर तथा स्वतन्त्र तिब्बतको पक्षमा सामग्री भेट्टाएपछि चिनियाँ अधिकारी नाका खोल्न तयार भएनन् ।

चीन सरकारले खासामा बस्दै आएका आफ्ना नागरिकलाई न्यालोम भन्ने स्थानमा सारिसकेको छ । नेपाल जोड्ने बाटोको मर्मत तथा फराकिलो बनाउने काम जारी रहेको छ ।

सो काम केही समयभित्रै सकिने चिनियाँ अधिकारीले नेपाली अधिकारीलाई जानकारी गराएका छन् । सोही जानकारीका आधारमा नेपालतर्फ कोदारी राजमार्ग स्तरोन्नतीको काम समेत सुरु भएको छ । केही समयभित्रै उक्त राजमार्गको स्तारोन्नतिको काम सकिने नेपाली अधिकारीको भनाइ छ । सडक विभागले मर्मतको काम गरिरहेको छ ।

तातोपानी नाका बन्द गरेपछि चीन सरकारले रसुवागढी नाकालाई विशेष प्राथमिकतामा राखेको छ । रसुवागढी नाका साँघुरो भएका कारण सहज रुपमा आवत जावत तथा माल सामान ओसार पसारका लागि समेत समस्या पर्ने गरेको छ ।

उक्त नाका बन्द हुँदा राजस्वमा समेत ठूलो नोक्सानी भएको छ । हजारौंले रोजगारी गुमाएका छन् । २० हजारको संख्यामा रहेका कन्टेनर तथा ट्रकको लगानी समेत डुबेको छ । व्यवसायी पलायन भएका छन् । नेपाल आयात हुने सामान कोलकत्ता बन्दरगाहबाट आउने गरेको छ । लामो बाटोबाबट सामान आयात गर्दा लागत मात्रै होइन समय समेत बढी लाग्ने गरेको छ ।

पछिल्लो पटक सुक्खा बन्दरगाहका काम समेत सुरु भएपछि नाका खुल्ने आशामा व्यापारी तथा व्यवसायी समेत हर्षित भएका छन् ।
उनीहरुले नाका खोल्ने शर्तमा चीन सरकारले राखेको चासो सम्बोधन गर्न समेत नागरिक समाज, स्थानीयबासी, सुरक्षाकर्मी तथा राजनीतिक दल समेत तयार रहेको बताएका छन् ।

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले विगत ३ वर्षदेखि नेपालीले भोगेको समस्या समाधान हुन लागेकोमा खुसी व्यक्त गरे ।

‘सुक्खा बन्दरगाहको निर्माणसँगै नाका खुल्नेमा हामी आशावादी भएका छौ,’ उनले भने ।

सरकारले चीनतर्फ थप ६ नाका खोल्ने सहमति यसअघि नै गरिसकेको छ । तर भौतिक पूर्वाधारको अभाव, सडक सञ्जालको दुरुह अवस्थाका कारण नाका खोल्ने विषय भने सहज बन्न सकेको छैन ।

भौर्गभिक अवस्था तथा सरकारले ध्यान दिन नसक्दा उत्तरतर्फका नाका सहज बन्न सकेको छैन । सहज रुपमा नाका खोल्नका लागि सरकारले कुटनीतिक रुपमा सहज प्रयास गर्नु जरुरी देखिन्छ ।

रसुवागढीमा समस्यै समस्या

तातोपानी नाका बन्द गरेपछि चीन सरकारले रसुवागढी नाकालाई विशेष प्राथमिकतामा राखेको छ । रसुवागढी नाका साँघुरो भएका कारण सहज रुपमा आवत जावत तथा माल सामान ओसार पसारका लागि समेत समस्या पर्ने गरेको छ ।

चीनतर्फ भव्य भवन तथा भौतिक पूर्वाधारले सम्पन्न भएपनि नेपाल तर्फ भने भन्सार कार्यालय, अध्यागमन तथा कुनै पनि कार्यालय व्यवस्थित रुपमा रहेका छैनन् । जसका कारण नेपाली नागरिकले हैरानी र परेसानी बाहेक अरु केही खेप्नु परेको छैन ।

नाका व्यवस्थित गर्ने सरकारको तयारी भएपनि त्यसतर्फ कुनै पनि पहल हुन सकेको छैन ।

रसुवागढी नाका व्यवस्थित गर्नु भन्दा पहिले सडक सुधारमा ध्यान दिनुपर्ने थियो । तर सडक विस्तारमा अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो पनि उत्तिकै रहेको छ । नेपाली सेनाले रसुवा–मैलुङ सडक खण्डको ट्रयाक निर्माण गरिसकेको छ ।

डबल लेनमा निर्माण भएको उक्त सडकको सहज सञ्चालनपछि मात्रै उक्त नाका थप व्यवस्थित हुने देखिएको छ । यस्तै रसुवागढीमा निर्माण हुन लागेको बन्दरगाह व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन पनि अझै केही वर्ष लाग्ने भएको छ ।

के हुँदैछ कोरला ?

सरकारले विशेष प्राथमिकतामा राखेको भनेको मुस्ताङको कोरला नामा पुग्न सडक सञ्जालको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । उक्त नाका हिउँदको समयमा मात्रै सञ्चालन गर्न सकिन्छ । बेनी–जोमसोम सडकको स्तोन्नतिको काम जारी रहेको छ । यस्तै मुस्ताङ सदरमुकाम कागवेनीदेखि माथिल्लो मुस्ताङ पुग्ने सडक खण्डमा नौ वटा ठूला र २० वटा जति साना पुल निर्माण गर्नुपर्ने छ ।

कोराला नाकामा चीन सरकारको तर्फबाटा भव्य संरचना निर्माण भएपनि नेपाल तर्फ कुनै पनि संरचना रहेका छैनन् । जसका कारण सहज रुपमा नाका सञ्चालनमा ल्याउन अझै केही वर्ष लाग्ने देखिन्छ ।

जहाँको त्यहीँ छ किमाथांका, ओलाङचुङगोला र लामाबगर

पूर्वका किमाथांका, ओलाङचुङगोला र दोलखाको लामाबगर नाका स्थानीयले मात्रै प्रयोग गर्दै गरेको अवस्था छ । जसका कारण सो नाकाबाट व्यवसायिक कारोबार तथा अन्य काम गर्न लामो समय लाग्ने देखिएको छ । किमाथांका संखुवासभामा पर्छ भने ओलाङचुङगोला ताप्लेजुङमा पर्छ ।

केही दिन पहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरिक्षणमा पुगेका प्रधानमन्त्री ओलीले सुरुङ निर्माण गरेर भएपनि लामाबगर नाका खोल्ने बताएका थिए । परम्परागतरुपमा सञ्चालनमा रहेको उक्त नाका स्थानीयले भेडा तथा चौरी चराउनका लागि मात्रै प्रयोग गर्दै आएका छन् ।

माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेपछि नाका खोल्न समस्या हुने भन्दै स्थानीयले प्रधानमन्त्री ओलीसँग तत्कालै सडक तथा सुरुङ निर्माणको प्रक्रिया शुरु गर्नसमेत आग्रह गरेका थिए ।

पछिल्लो पटक चीन सरकारको सहयोगमा निर्माण हुन थालेको लार्चा सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएकाले नाका खुल्ला कि भन्ने झिनो आशा देखिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति र चिनियाँ अधिकारीबीच बिहिबार लार्चा बन्दरगाह निर्माण सुरु गर्ने सहमति भएको छ । सोही सहमतिका आधारमा तातोपानी नाका खुल्ला भन्ने आश गर्न सकिन्छ ।


पुष्प दुलाल