सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता



काठमाडौं । जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो ।

तर मङ्गलबार बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो ।

अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् त्यसैमा वार्ताको भविश्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए ।

जब दुवै नेताले पृष्ठभूमिमा राखिएका दुवै देशका झण्डाको अघि उभिएर हात मिलाउनुभयो र मुस्कुराउनुभयो तब उहाँहरुको ‘बोडी ल्याङ्ग्वेज’ शारिरीक भाषाले केही बोलिसकेको थियो । उनीहरुको केही क्षणको एक्लाएक्लै वार्तापछि समाचार पनि सकारात्मक नै बाहिर आयो । अमेरिकाले भन्ने गरेको निशस्त्रीकरणको मागमा उत्तर कोरिया सहमत भयो र अमेरिकाले पनि यसलाई सकारात्मक रुपमा लियो ।

यससम्बन्धी महत्वपूर्ण दस्ताबेजमा दुवै नेताले हस्ताक्षर गरे । चार वुँदै सो दस्ताबेज वास्तवमै ऐतिहासिक र महत्वपूर्ण रहेको बताइएको छ । उक्त दस्ताबेजमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कुरामा प्रतिबद्धता जनाउनु मत्वपूर्ण हो ।

उनीहरुले अभूतपूर्व वार्ता गरेपछि उक्त संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरे । त्यस क्षणलाई राष्ट्रपति ट्रम्पले नै एक अभूतपूर्वा क्षणको रुपमा बताए । राष्ट्रपति ट्रम्पले केहीबेर अघि भएको वार्ताबाट महत्वपूर्ण उपलब्धि हासिल भएको र यसबाट आफूले निकै गर्वको अनुभूति गरेको बताए ।

उनीहरुबीचको एक्लाएक्लै वार्तामा नै नेता किमले अब दुई देशबीचमा नयाँ सम्बन्धको अध्यायको सुरुआत भएको र विगतका कुरा विर्सिएको भनी दिएको तर्कबाट नै राष्ट्रपति ट्रम्प प्रभावित भए । त्यस लगत्तै सम्वाददाताहरुलाई राष्ट्रपति ट्रम्पले अब अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध पनि भिन्न रुपमा अघि बढ्ने बताए ।

अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्तिलाई उता कोरियाली सञ्चारले भने बडो महत्वका साथ प्रचार गरेका छन् । उनीहरुले अमेरिकाले उत्तर कोरियाली नेताको प्रस्ताव स्वीकार गरेको भन्ने अर्थमा प्रचारमा ल्याएका थिए । दुवै पक्षले इतिहासमै विशेष सम्बन्धको विकास गरेको भनेर खुसी पनि व्यक्त गरेका छन् ।

यतिमात्र होइन कि उत्तरका नेता किमले बैठक ऐतिहासिक र महत्वपूर्ण भएकोले आगामी केही समयमै विश्वले नै ठूलो र सकारात्मक परिवर्तन देख्नसक्ने धारणा राखे । उता अमेरिकी राष्ट्रपतिले पनि आफूहरु अब छिट्टै ह्वाइट हाउसमा भेट्ने प्रतिक्रिया दिए । वार्तामा आफूले नसोचेको प्रगति भएको भनाई उनको छ ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाले पूर्ण रुपमा प्रमाणिकरण गर्न सकिने खालको परमाणु निशस्त्रीकरणमा जोड दिएको थियो । उता उत्तर कोरियाले पनि ठूलो खतरा मोल्दै यस अगावै आफ्ना परमाणु परीक्षणस्थल भत्काएको थियो । उत्तरले वार्ताको वातावरण त उहिलेदेखि नै निर्माण गर्दै आएको थियो । तर पनि यी दुई नेताको स्वभाव र प्रकृतिका कारण वार्ताको टेबलमै बसेपछि मात्र विश्वास लाग्ने भनाई विदेशी समुदायको थियो ।

यो वार्ताका लागि राष्ट्रपति ट्रम्पले आफैले खतरा मोलेको भनाई छ अधिकांशको । उनले नै सत्तामा आएपछि पहिलेको तुलनामा झन कडा रुपमा नाकाबन्दी लगाएका थिए । त्यतिमात्र नभएर उनले उत्तरका विरुद्धमा सैन्य कारबाही गर्न समेत एसियाको नेताहरुको सहमतिका लागि एसिया भ्रमणमा निस्किए । अमेरिकी अधिकारीहरु पनि राष्ट्रपतिले अनावश्यक मानिससँग वार्ताको खतरा मोलेको बताएका थिए । तर उनी कम्तीमा एक पटक वार्ताको टेबलमा बस्ने अडानमा रहेका थिए र आज त्यो सफल पनि भयो ।

अर्कातर्फ उत्तर कोरियाली नेता किमका लागि भने यो निकै ठूलो अवसर बन्न पुगेको छ । छ महिनाअघि सम्म एक अर्कालाई सिध्याइदिने भन्नेजस्तो अवस्था रहेकोमा अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गर्न पाउने र एक्लाएक्लै वार्तामा बस्न पाउने पनि ठूलो अवसर भएको भनाई छ । यसबाट आफ्नो देशमाथि लागेका सबै प्रकारका नाकाबन्दीहरु हट्ने अपेक्षा उत्तरले गरेको छ ।

यस वार्ताको सफलताबाट विश्वले गरेको अपेक्षा हो शान्ति र एकता । त्यो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ ।

त्यस्तै विश्वले चाहेको एकता दुई कोरियाबीचको एकता हो । सन् १९५३ मा अनायासै एउटै कोरियाका नागरिक विभाजन भएपछि आजका दिनसम्म जुन पीडा उनीहरुले भोगेका छन् त्यसले समय समयमा विश्वकै नागरिकलाई पनि बडो स्तब्ध गराउने गर्छ । यी कोरियाको पारिवारिक पुनर्मिलनमा देखापर्ने दृश्यहरुले सबैको ध्यान तान्ने गर्दछ । त्यसैले यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो ।

TOPSHOT-SINGAPORE-US-NKOREA-DIPLOMACY-SUMMIT

निशस्त्रीकरणमा प्रतिबद्धता छौँ– किम

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जारी गरेका छन् ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरे ।

दुई नेताले सिङ्गापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरे । यस वार्तापछि गर्वको अनुभव भएको ट्रम्पले बताए ।

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो ।

ह्वाइट हाउसमा फेरि भेट्छौँ– ट्रम्प

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिएका छन् । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिएका हुन् ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भन्नुभयो । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनु भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताए । रासस


क्लिकमान्डु