काठमाडौं महानगरको फोहोर उठाउने यी को हुन् ? कति पैसा लिएर उठाउँछन् ?




काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर कसले उठाउछ, सर्बसाधारणबाट कति पैसा लिएर उठाउँछ र कहाँ ब्यवस्थापन गर्छ भन्ने जस्ता आधारभूत जानकारी कुनै पनि निकायसँग छैन ।

फोहोर व्यवस्थापन तथा संकलनको पारदर्शिताको अभावमा काठमाडौंवासी प्रत्येक बिहान दुर्गन्धित हावामा स्वास फेर्न बाध्य छन् । महानगरभित्रको फोहोर व्यस्थापन गर्ने जिम्मा काठमाडौं महानगरपालिकाको भए पनि महानगर सार्वजनिक स्थल र सडक किनारामा भएको फोहोर उठाउनमै व्यस्त हुन्छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । त्यसकारण काठमाडौं महानगर भित्रको फोहोर मैला ब्यवस्थापनको जिम्मा पनि काठमाडौं महानगरकै हो ।

ऐनले स्थानीय तहको अनुमति नलिइकन कसैले पनि फोहोर मैला व्यवस्थापनको काम गर्न नपाउने समेत उल्लेख गरेको छ । तर अहिले तपाई हाम्रो घरमा फोहोर संकलन गर्न आउने कुनै पनि फोहोर संकलकले महानगरबाट अनुमति लिएका छैनन् ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरका अनुसार महानगरले सडक किनारमा थुपारिएको र केही पुराना वस्तीको मात्रै फोहोर संकलन गर्छ । उनका अनुसार महानगरले असन, इन्द्रचोक जस्ता अत्याधिक बाक्लो बस्ती भएका केही क्षेत्रको मात्रै फोहोर संकलन गर्छ ।

त्यसो भए अन्य क्षेत्रको फोहोर कसले संकलन गर्छ त ?

केही निजी कम्पनी र गैरसरकारी संस्थाहरुले महानगर भित्रको फोहोर संकलन गर्ने गरेको जानकारी आफूलाई भए पनि कुन कुन कम्पनी वा संस्थाले कुन कुन क्षेत्रको फोहोर संकलन गरिरहेका छन् भन्ने जानकारी महानगरलाई नभएको उनले बताए ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद ४ मा स्थानीय तहले आफ्नो क्षेत्रभित्रको फोहोरमैला संकलन गर्नको लागि निजी क्षेत्र या सामुदायिक क्षेत्रलाई जिम्मा दिन सक्छ । तर यसरी जिम्मा दिदा संकलन गर्ने अनुमति पाएको कम्पनीले महानगरलाई कबुल गरेको रकम बुझाउनुपर्ने उल्लेख गरेको छ ।

ऐनमा फोहोरमैला व्यवस्थापनको प्रस्ट कार्यदिशा भएपनि महानगरले आजसम्म कुनै पनि फोहोर संकलकसँग रकम लिएको छैन ।

‘कति कम्पनी र एनजीओ फोहोर उठाउँछन भन्ने नै थाह छैन, पैसा कहाँबाट उठाउनु,’ महानगरका कर्मचारी भन्छन् ।

महानगरसँग अहिले अनौपचारिक रुपमा आएको जानकारी अनुसार एनजीओ र कम्पनी गरी ३४ वटाले महानगरको विभिन्न क्षेत्रमा फोहोर संकलन गरिरहेका छन् । यी ३४ वटा कम्पनी पनि कता कता फोहोर संकलन गर्छ भन्ने महानगरलाई जानकारी छैन ।

अहिले महानगरलाई ठूला होटल, रेष्टुरेण्ट र उद्योग कलकारखानले सडक किनारामा थुपारेको फोहोर संकलन गर्न पनि भ्याई नभ्याई हुने गरेको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा ठूला होटल, रेष्टुरेण्ट र उद्योग कलकारखानबाट निस्केको फोहोर उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको भएपनि महानगरले कुनै कार्बाही गर्न सकेको छैन ।

यति मात्रै होइन, ऐनले फोहोरमैलाको प्रयोग, प्रशोधन वा पुनः प्रयोग गरिने भए त्यसवापतको रोयल्टी स्थानीय तहलाई बुझाउनुपर्ने भनी प्रष्ट व्यवस्था गरेको छ । तर महानगरमा फोहोर संकलन गर्ने कम्पनीले फोहोर पुनःप्रयोग या प्रशोधन गरे नगरेको समेत महानगरलाई जानकारी छैन ।

यसका अलवा फोहोरमैला निस्काशन, संकलन तथा अन्तिम व्यवस्थापन सम्बन्धी काठमाडौं महानगरपालिकाले तयार पारेको निर्देशिकामा पनि कुनै पनि निजी कम्पनी, गैरसरकारी संस्था र सामुदायिक संस्थाले संकलन गरेको फोहोर महानगरले विसर्जन गरेको स्थानमा विसर्जन गर्न नपाउने उल्लेख गरिएको छ । तर, निजी कम्पनी वा गैरसरकारी संस्थाले संकलन गरेको फोहोरमैला पनि महानगरले विसर्जन गर्ने ल्याण्डफिल साईडमै फोहोर विसर्जन गर्छन् ।

सिसडोल ल्याण्डफिल साईटका कर्मचारी सरकारदिप श्रेष्ठका अनुसार सिसडोलमा महानगरका भन्दा धेरै गाडी निजी क्षेत्र र एनजीओका हुन्छन् । महानगरले दैनिक ७ सय टन फाहोर संकलन गर्छ । तर सिसडोलमा भने ३ हजार टन भन्दा धेरे फोहोर विसर्जन हुन्छ ।

महानगरक्षेत्र भित्र फोहोर संकलन गरेबापत महानगरलाई कर तिर्नुको साटो बरु उल्टै फोहोर संकलन गरेवापत त्यस्ता संकलकले सर्वसाधारणबाट पैसा उठाउने गरेका छन् । महानगरले घरको फोहोर संकलन गरेवापत समान्यतः २ सय १९ रुपैयाँ लिने गरेको भएपनि यी संकलकले भने मनलाग्दी शूल्क उठाउने गर्छन् । वातवारण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरका अनुसार यी कम्पनीले परिवारसंख्या हेरेर फोहोर संकलन गरेको शूल्क उठाउँछन् ।

महानगरको यी कम्पनीसँग कुनै प्रकारको लिखित सम्झौता नभएको पनि कुवँरले बताए । लिखित सम्झौता नभएकै कारण फोहोर संकलकसँग कर उठाउन नसकिएको उनले सुनाए ।

महानगरले गर्नुपर्ने काम निजी कम्पनीले गरेपछि महानगर पनि मौन बसेको हो । यी कम्पनी र एनजिओले आफुले फोहोर उठाउने सीमा क्षेत्र आफैले निर्धारण गरेका हुन्छन् । उनीहरुको क्षेत्रमा गएर महानगर आफै पनि फोहोर संकल गर्न सक्दैन । महानगरबाट महानगरकै काम खोसेका यी कम्पनीहरुको फोहोर संकलन गर्ने रुटिन पनि छैन । कहिले दैनिक फोहोर संकल गर्न आउँछन्, त कहिले हप्तौसम्म आउँदैनन् ।

नीजी कम्पनी र एनजीओलो फोहोर संकलन गर्न सुरु गरेपछि अहिले महानगरले आफ्नो फोहोर संकलन जनशक्ति पनि घटाएको छ । महानगरका एक कर्मचारीका अनुसार पहिले पहिले फोहोर संकलनै लागि वडामा ३० जनासम्म कर्मचारी हुन्थे । तर अहिले एउटा वडामा १५ जना पनि छैनन । अझ कुनै वडामा त कर्मचारी नै छैनन् ।

‘अहिले महानगरसँग फोहोर संकलनका लागि पर्याप्त जनशक्ति छैन, महानगरले गर्ने काम उनीहरु गरिरहेका छन्, त्यही भएर महानगर नदेखेजस्तो गरेर बसेको हो,’ कर्मचारी भन्छन् ।

महानगरले चालु आर्थिक वर्षमा वातावरण व्यस्थापन लागि भन्दै २ अर्ब १९ करोड ९२ लाख ६५ हजार रकम विनियोजन गरेको छ । यसमा महानगरले टिप्रर खरिद, जेट मेसिन खरिद, ब्रुमर खरिद जस्ता काम गर्ने उल्लेख गरेको छ ।

त्यस्तै ल्याडफिल्ड ट्रान्सफर स्टेशन खर्च भन्दै महानगरले ४ करोड ८७ लाख रकम विनियोजन गरेको छ । विशेष सरसफाई भन्दै महानगरले २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसका अलवा महानगरले क्लिन द सीटी अभियान अन्र्तगत प्रत्येक वडालाई १ लाखका दरले ३२ लाख रुपैयाँ पनि दिएको छ । महानगरले यसरी अबौँ रकम सरसफाईका लागि छुट्याएको भएपनि महानगरवासीको घरको फोहोर संकलनमा भने उसको ध्यान अझै पुग्न सकेको छैन ।

उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको यो अन्योलता हटाउनको लागि लगानी बोर्डले फोहोर व्यस्थापनको लागि ग्लोबल टेण्डर आह्वान गरेर प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्टमा काम गरिरहेको छ । बोर्डका अनुसार फोहोर व्यवस्थापक कम्पनीसँग सम्झौता भएपछि अबको जस्तो सबै फोहोर लगेर ल्याडफिल साईटमा मात्रै व्यवस्थापन हुने छैन ।

फोहोरबाट बिद्युत उत्पादन, मल बनाउने र इटा उद्योगको लागि चाहिने सामाग्री पनि तयार हुने छ । यसका अलावा व्यवस्थापक कम्पनीले कुल संकलित फोहोरको २० प्रतिशत फोहोर ल्याडफिल साईटमा डिस्पोजल समेत गर्ने छ ।

लगानी बोर्डले फोहोर व्यवस्थापनका लागि बृहत परियोजनामा काम गरिरहेकाले पनि हाल महानगरले यस विषयमा खासै चासो नदेखाएको महानगरले बताएको छ ।


क्लिकमान्डु