मोटरसाइकलले नै २ लाखसम्म सडक दस्तुर तिर्नुपर्ने, कारले कति ?



काठमाडौं । सरकारले सवारी साधन चलाएबापत लिने सडक दस्तुर बढाएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनमा लिइँदै आएको सडक निर्माण दस्तुर बढाएको जानकारी दिए ।

महंगा तथा बिलासी बस्तुमा बढी कर र सस्ता तथा अत्यावश्यक वस्तुमा कम कर लगाउने सरकारको नीति छ ।

अब ४०१ सीसीभन्दा माथिका मोटरसाइकल किन्ने उपभोक्ताले सडक प्रयोग गरे बापत २ लाख रुपैयाँ सरकारलाई कर तिर्नुपर्ने भएको छ । यसअघि जम्मा २० हजार रुपैयाँ मात्रै तिर्नुपर्थ्यो ।

त्यस्तै १५० सीसीसम्मको बाइकले १५ हजार, तिर्नुपर्ने भएको छ । यसअघि १० हजार रुपैयाँ मात्रै तिर्नुपथ्र्यो । त्यसैगरी, यसअघि १२ हजार रुपैयाँ तिर्दै आएका १५१ देखि २५० सीसीसम्मका बाइकले १८ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै, यसअघि १५ हजार रुपैयाँ तिर्दै आएका २५१ सीसीदेखि ४०० सीसीसम्मका बाइकले ५० हजार रुपैयाँ सडक दस्तुर तिर्नुपर्ने भएको छ ।

महंगा सवारीसाधनको अन्तशुल्कमा भारी वृद्धि गरेको सरकारले सडक दस्तुर पनि उसैगरी बढाएको हो ।

कारले कति तिर्नुपर्छ ?

बजेटले कारलाई लगाइँदै आएको सडक दस्तुर पनि बढाएको छ । अब २ हजार सीसीसम्मका कार, जीप र भ्यानले मूल्यको ८ प्रतिशत र २ हजार सीसीभन्दा माथिकाले मूल्यको १० प्रतिशत सडक दस्तुरबापत सरकारलाई कर तिर्नुपर्ने भएको छ ।

बस र ट्रिपरलाई सस्तो

सरकारले बस, ट्रिपर, ट्रक, माइक्रोबस, मिनिबस, मिनिट्रक र मिनिट्रिपरमा लाग्दै आएको सडक दस्तुर पनि केही बढाएको छ । तर, कारको तुलनामा भने यी सवारीसाधनमा कम बढाएको हो । यी सबैले मूल्यको ७ प्रतिशत सडक दस्तुर कर तिरेपुग्छ ।

कम्पनीले आयात गर्दा नै भन्सारमा यो शुल्क तिरेर ल्याउँछन् । सरकारले बढाएको कर थपेर कम्पनीले उपभोक्तालाई बक्रिी गर्छन् । त्यसैले बजेटले लिएको नीतिका कारण सवारीसाधन महंगा भएका छन् ।


पुष्प दुलाल