पेन्सनवाला अर्थमन्त्रीले कर्मचारीको तलब बढाउन कि नबढाउलान् ?




काठमाडौं । आगामी आर्थिक बर्षको बजेट आउन अब एक साता मात्रै बाँकी छ । संविधानको ब्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट ल्याउनै पर्नेछ ।

सरकार अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । सरकारको तर्फबाट बजेट ल्याउनको लागि अर्थमन्त्री डा. युवराज खतिवडा बजेट तयारीको अन्तिम गृहकार्यमा छन् । सरकारले आज (सोमबार) आगामी आर्थिक बर्षको लागि सरकारको नीति तथा कार्यक्रम ब्यवस्थापिका संसदमा पेश गर्दैछ ।

आगामी आर्थिक बर्षको बजेटमा निर्वाचनको बेलामा बाम गठबन्धनले अगाडि सारेका कार्यक्रम कार्यान्वयन गर्ने सरकारका उच्च अधिकारी बताइरहेका छन् । सरकारले आगामी आर्थिक बर्षको लागि ल्याउने बजेटले बाम गठबन्धनको चुनाबी नारा ‘सुखी नेपालीः समृद्ध नेपाल’लाई केन्द्रमा राख्ने अर्थमन्त्री डा. खतिवडाले बताइसकेका छन् ।

यस्तै परिवेशमा सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारी कर्मचारीको तलब भत्ता बृद्धि गर्छ कि गर्दैन भन्ने अर्काे चासोको बिषय पनि थपिएको छ ।

निजामति कर्मचारी ऐनमा सरकारले प्रत्येक २ बर्षमा निजामति कर्मचारीको तलब समायोजना गर्ने बताउँदै आएको छ । यसरी तलब समायोजन गर्दा ती २ बर्षको औसत मूल्य बृद्धिलाई मापक बनाउने गरिएको छ ।

सरकारले निजामति कर्मचारीको तलब बढाउँदा सरकारी ढुकुटीबाट तलब भत्ता खाने सबै कर्मचारीको तलब बृद्धि हुने गर्छ । निजामति सेवा ऐनले प्रत्येक २ बर्षमा तलब समायोजन गर्नुपर्ने ब्यवस्था गरेको भएपनि शिक्षक, स्वास्थ्य सेवा, जंगी, प्रहरी, ससस्त्र प्रहरी, सार्बजनिक संस्थान तथा अन्य समिति र आयोजनाहरुका कर्मचारीको पनि तलब बढ्ने गरेको छ ।

निजामति कर्मचारी ऐनको पालना गर्ने हो भने यो बर्ष सरकारले सरकारी कर्मचारीको तलब बढाउनै पर्ने हुन्छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा सरकारी कर्मचारीको तलब बढेको भएपनि त्यसयता तलब नबढेको २ बर्ष पूरा भएको छ ।

निजामति कर्मचारीहरुले भने तलब भत्ता समायोजन गर्नुपर्ने समय भएकोले तलब बढाउन दबाब दिइरहेका छन् । तलब बढाउन माग गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन महासंघका पदाधिकारीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर आफ्नो माग राखिसकेका छन् ।

तर, आफूहरुको भेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले अहिले तलब बढाउन सक्ने अबस्था नभएको प्रतिक्रिया ट्रेडयुनियनका पदाधिकारीलाई दिएका छन् ।

सरकारले कर्मचारीको तलब बढाउँदा बजारमा सबै बस्तु तथा सेवाको मूल्य आकाशिने गरेको छ । सरकारले कर्मचारीको तलब बढाउँदा त्यसको मार आम सर्बसाधारणमा पर्ने गरेको छ ।

अहिलेका अर्थमन्त्री सरकारी ढुकुटीबाट पेन्सन खाने ब्यक्ति हुन् । उनी नेपाल राष्ट्र बैंकका अबकाश प्राप्त कर्मचारी हुन् । कर्मचारी पृष्ठमूभीका अर्थमन्त्रीले कर्मचारीको पीडा बुझ्ने भएकोले आफूको तलब बढ्ने आशा सरकारी कर्मचारीले गरेका छन् ।


क्लिकमान्डु