कर्मचारी ५ बज्नु अगाडि नै हिँडेपछि सिंहदरबारमा कडाइ, अब ५:२० मा मात्र गाडी छुट्ने

0
Shares

काठमाडौं । सिंहदरबारस्थित विभिन्न सरकारी निकायका कर्मचारीहरू कार्यालय समय नसकिँदै घर जान थालेपछि सरकारले कर्मचारी बोक्ने बस (एकीकृत परिवहन सेवा) छुट्ने समय परिवर्तन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अबदेखि सिंहदरबार परिसरभित्र र बाहिरबाट सञ्चालन हुने कर्मचारी ओसार्ने सवारीसाधनहरू बेलुका ५:२० बजे मात्र छुट्ने व्यवस्था गरेको हो । यसअघि यस्ता बसहरू ठिक ५:०० बजे छुट्ने गर्दथे ।

५ बजे बस छुट्ने भएपछि कर्मचारीहरू बस चढ्नका लागि ५ बज्नु अगावै आफ्नो कार्यकक्ष र कार्यालय छोडेर हिँड्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रमा गुनासो परेपछि यस्तो सूचना जारी भएको हो । कर्मचारीहरू समय अगावै हिँड्दा कार्यालयको दैनिक कार्यसम्पादन र सेवा प्रवाहमा गम्भीर असर परेको सतर्कता केन्द्रको ठहर छ।

मन्त्रालयका शाखा अधिकृत भबिन्द्र कार्कीद्वारा हस्ताक्षरित पत्रका अनुसार यो नयाँ व्यवस्था २०८२ चैत २४ गतेदेखि नै पूर्ण रूपमा कार्यान्वयनमा आएको छ । अब सबै मन्त्रालय, आयोग, सचिवालय र अन्य निकायले आफ्ना कर्मचारी बोक्ने सवारीसाधनहरू ५:२० मा मात्र गन्तव्यतर्फ पठाउनु पर्नेछ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै कार्यालय समय ९-५ बनाएको छ।

विहान कार्यालयमा समयमै उपस्थित भए/नभएको र कार्यालय सकिनु अगावै निस्किएको/ननिस्किएको अनुगमनका लागि केन्द्रले टोलीनै खटाएको छ ।