काठमाडौं महानगरका प्रत्येक वडामा २ वटा सार्वजानिक शौचालय बनाइँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार गत वैशाख १२ गते कामपाको कार्यपालिका बैठकले उक्त निर्र्णय गरेको हो ।

‘कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो,’ उनले भने ।

कामपाले यसअघि ४४ स्थानमा शौचालय निर्माण गर्ने भने पनि राजधानीका अत्यन्त व्यस्त स्थानमा अझै पनि शौचालय नबनिसकेकाले वडालाई उपयुक्त स्थान पहिचानका लागि जिम्मा दिइएको हो ।

वडाबाट सिफारिश आएपछि मात्र कामपाले लागतसहितको डिजाइन तयार गर्नेछ ।

यो कामपाको २ वर्षअघिकै योजना भए पनि अब भने तीव्ररुपमा काम हुने सूचना अधिकारी आचार्यले जानकारी दिए ।

‘सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने कामपाको प्रयास हुनेछ । सबै वडामा बनाउनै पर्छ भन्ने छैन तर आवश्यक परेको सबै स्थानमा निर्माण गरिने छ ।’ उनले भने । रासस


पुष्प दुलाल