जथाभावी फोहोर फाल्दै हुनुहुन्छ ? जरिवानामा परिएला नि !




काठमाडौं । काठमाडौं शहरभित्र जथाभाबी फोहोर फाल्दै वा पोस्टर टाँस्दै हुनुहुन्छ भने सचेत बन्नुहोला । किनभने काठमाडौं महानगरपालिकाले यस्तो कार्य गर्ने ब्यक्तिहरुलाई समाउदै जरिवाना तिराउने गरेको छ ।

महानगरले चालु आर्थिक बर्षको वैशाख महिनासम्म शहरी सुन्दरता बिगार्ने कार्यमा संलग्न १ सय ३१ जनाबाट ३ लाख ९२ हजार रुपैयाँ जरिवाना अशुल गरेको छ ।
महानगरपालिका क्षेत्र भित्र ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने, सडकमा फोहोर फाल्ने लगायतको गतिविधि गर्नेलाई कारबाही स्वरुप ३ लाख ९२ हजार रुपैयाँ अशुल गरिएको महानगर वातावरण विभागका प्रमुख हरि कुवँरले जानकारी दिए ।

‘महानगरपालिकाले पोस्टर, पम्प्लेट टाँस्ने, ब्रोसर सडकमा फोहोर फाल्नेहरुलाई कारबाही गर्दै आएको छ, हामीले पटक पटक यस्ता कार्य नगर्न सार्वजनिक सूचना मार्फत जानकारी दिइरहेका छौं, आग्रहका वावजुत अटेर गर्नेलाई कारबाही स्वरुप क्षतिपूर्ती तिराएका हौं,’ प्रमुख कुवरले क्लिकमाण्डूसँग भने ।

काठमाडौंका निजी स्कुल, कलेज, कन्सल्टेन्सीले शहर सुन्दरता प्रदुषित हुनेगरी विजुली÷टेलिफोनको पोल, सार्वजनिक स्थानमा विज्ञापनका लागि पोस्टर टाँस्ने गरेका छन् । यस्ता पोस्टरहरु टाँस्नका लागि महानरबाट स्वीकृति लिनुपर्ने हुन्छ । तर सार्वजनिक स्थानमा भने टाँस्न पाइने छैन ।

महानगरले सार्वजनिक स्थानमा पोस्टर टाँस्नेमाथिको कारबाही तीब्र बनाएको महानगरको प्रहरी नायव निरीक्षक (सई) जनार्दन अधिकारी बताए ।

‘विगतमा पोस्टर टाँसी रहेकालाई समातेर कारबाही गर्ने गरेका थियौ, अहिले पोस्टर टाँस्न लगाउने संघसंस्थालाई पनि कारबाहीको दायरामा ल्याउने काम तीब्रगतिमा भइरहेको छ,’ सई अधिकारीले भने ।

पछिल्लो दिन एईई र १२ कक्षाको परीक्षा सकिएको छ । ती विद्यार्थीलाई आकर्षित गर्नका लागि कलेज, कन्सल्टेन्सीहरुले शहर प्रदुषित हुनेगरी पम्प्लेट, पोस्टर, ब्रोसर लगायत प्रयोगगरी विज्ञापन गर्ने गरेका छन् । जसका कारण शहरको दुश्यका साथै सडक प्रदुषित हुने गरेको छ ।

काठमाडौं शहर दुषित गर्नेमा रेष्टुरेन्ट संचालक पनि कम नभएको अधिकारीको भनाई छ ।

‘साँझको समयमा रेष्टुरेन्टको फोहोर सडकमा फाल्छन्, फोहोरबाट निस्किने दुर्गन्दका पैदल यात्रीलाई बाटो हिड्न मुस्किल हुने गरेको छ,’ सई अधिकारीले भने ।
महानगरले सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्ति, संघसंस्थाबाट ५ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म अशुली गर्ने गरेको उनले जानकारी दिए ।


क्लिकमान्डु