एउटा मात्रै गाडी हुने, सहकारी र फर्मलेले पनि रुट परमिट पाउने




काठमाडौं । यातायात ब्यवस्था विभागले एउटा मात्रै सार्बजनिक सवारी साधन हुने ब्यक्ति वा फर्मलाई पनि रुट परमिट दिने भएको छ ।

सिण्डिकेटको पक्षमा रहेका यातायात ब्यवसायी समितिले एउटा मात्रै गाडी हुनेले चलाउनै नपाउने गरी सरकारले कानुन बनाएको आरोप लगाइरहेका समयमा यातायात ब्यवस्था विभागले यस्तो बताएको हो ।

‘एउटा मात्रै गाडी हुनेले पनि परमिट पाउँछन्, ५ भन्दा बढी गाडी भएकाहरुले कम्पनी मार्फत सेवा संचालन गर्ने भनेर अनुमति मागे त्यस्तोलाई पनि रुट परमिट दिने ब्यवस्था छ,’ विभागका प्रवक्ता तुलसीराम अर्यालले क्लिकमाण्डूसँग भने ।

यस्तै उनले घरेलु तथा साना उद्योगमा दर्ता भएर आएका फर्मले पनि रुट परमिट पाउने बाटो खुल्ला रहेको जानकारी दिए । घरेलुमा दर्ता भएर आएका फर्मले एक वा सोभन्दा बढी गाडी भएपनि संचालनको रुट परमिट पाउने छन् ।

विभागले सहकारी संस्थाहरुलाई सार्बजनिक सवारी साधन संचालनको रुट परमिट दिने तयारी गरेको छ । सहकारी संस्था मार्फत आउने गाडीलाई संख्याको सीमा भने नतोकिने विभागको भनाइ छ ।

विभागले सिण्डिकेटको पक्षमा लागेर सार्बजनिक यातायातमा हड्ताल गर्ने सबैको रुट परमिट खारेज गर्ने तयारी गरेको छ । पहिलो चरणमा रत्नपार्क सोह्रखुट्टे सामाखुसी हुदै नयाँ बसपार्कसम्म चल्ने एस ५ रुटको परमिट खारेज गरिएको छ । सो रुटमा २६ माइक्रो बस संचालनमा थिए ।

यस्तै सार्बजनिक यातायातमा हड्ताल गर्ने यातायात ब्यवसायीको तथ्यांक संकलन र रुटको अध्ययन भइरहेको विभागले जानकारी दिएको छ ।

‘आज (शुक्रबार) धेरै रुटमा गाडी चलेनन् भन्ने जानकारी आएको छ, हामी त्यसको विवरण संकलन गरिरहेका छौं, हड्तालमा उत्रने सबैको रुट परमिट खारेज गरेर नयाँ परमिट जारी गर्ने भएकोले धेरै रुटमा परमिट दिन सकिने अबस्था छ,’ प्रवक्ता अर्यालले भने ।

नयाँ परमिट दिदा विभागले कम्पनी, फर्म वा सहकारी मार्फत आएका सार्बजनिक सवारी साधनलाई मात्रै स्वीकृति दिनेछ ।

यस्तै विभागले बसपार्कहरुमा रहेका समितिहरुका काउन्टर खाली गराएको छ । सो स्थानमा कम्पनी मार्फत आएका सवारी साधनको काउन्टर राखिने प्रवक्ता अर्यालले जानकारी दिए ।

यस्तै विभागले अहिले चलिरहेका रुटमा नै परमिट नविकरण गर्न चाहने ब्यवसायीलाई सो अवसर पनि दिने भएको छ ।


क्लिकमान्डु