चिनियाँ ठेकेदारको एउटा पत्रले चक्रपथ विस्तारको काम ५ महिना लम्बियो



काठमाडौं । चक्रपथ विस्तार आयोजना ५ महिना पर धकेलिने भएको छ । कोटेश्वर-कलंकी खण्डको १०.३९ किलोमिटर सडक विस्तारको काम गरिरहेको चीनको सांघाई कन्सट्रक्सन ग्रपुले विस्तार अवधि ५ महिना थप गर्न चक्रपथ विस्तार आयोजनालाई पत्र पठाएसँगै चक्रपथ विस्तारको काम धकेलिएको हो ।

चिनियाँ कम्पनीले २०७५ साउन मसान्तसम्ममा कोटेश्वर-कलंकी खण्डको सडक विस्तार गरिसक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता मुक्ति गौतमले चक्रपथ विस्तार गर्ने कम्पनीले निर्माणको समयावधि थप गर्नका लागि पत्र पठाएको जानकारी दिए ।

‘ठेकेदार कम्पनीले साउन मसान्तसम्ममा चक्रपथ विस्तार सक्नुपर्ने थियो, उनीहरुले प्रमुख काम सोही अवधिमा सक्ने र केही प्राविधिक काम सक्नका लागि ठेक्का अवधि बढाउन माग गरेका छन्,’ प्रवक्ता गौतमले क्लिकमाण्डूसँग भने ।

साउनसम्ममा धुलो तथा धुँवाबाट मुक्ति पाउन आशमा बसेका सर्वसाधारणले थप ५ महिना सास्ती खेप्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।

चीनको ठेकेदार कम्पनीले चक्रपथको कलंकी-कोटेश्वर सडक खण्डको ८.९ किलोमिटर सडक विस्तार गरिसकेको छ । हाल कम्पनीले बल्खु-कलंकी खण्डको साढे १ किलोमिटर सडक विस्तारको काम गरिरहेको छ । बल्खुतर्फ सब ग्रेड (पुरानो माटो हटाएर नयाँ माटो राख्ने) को काम चलिरहेको छ ।

ठेकेदार कम्पनीले २०७० असारदेखि चक्रपथको कलंकी-कोटेश्वर सडक विस्तारको काम गरिरहेको छ । चिनीयाँ कम्पनीले २०७३ पुस महिनासम्ममा सडक विस्तार गर्नेगरी ठेक्का लिएको थियो ।

२०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न सकेको थिएन । सोही कारण देखाउँदै कम्पनीले २०७५ साउन महिनासम्ममा विस्तार सक्नेगरी डेढ बर्ष सम्झौता अवधि थप गरेको थियो ।

थप ५ महिना सास्ती थपियो

कोटेश्वर-कलंकी खण्डको बल्खुदेखि कलंकीसम्मको सडक विस्तारका लागि अहिले सडक खन्ने काम चलिरहेको छ । खनिएको सडकबाट उँड्ने धुलो तथा धुँवाबाट यात्रा तथा सडकका आसपास व्यपार-व्यवसाय गर्ने सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

कोटेश्वरदेखि बल्खुसम्मको चिल्लो सफा सडकमा यात्रा गरेका यात्रुहरु बल्खु प्रवेश गरेसँगै धुलोको भूमरीमा फस्ने गरेका छन । त्यो साढे एक किलोमिटर सडक धुलोका कारण पार गर्नका लागि यात्रुलाई निकै सकस हुने गरेको छ ।

साउन मसान्तसम्ममा सडक विस्तार हुने आशका कारण धुलो तथा धुँवालाई सर्वसाधारणले पचाइरहेका छन् । तर ठेकेदार कम्पनी विस्तारको समय थप गर्न लागिरहेको छ । साउनसम्ममा धुलो तथा धुँवाबाट मुक्ति पाउन आशमा बसेका सर्वसाधारणले थप ५ महिना सास्ती खेप्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।

कम्पनीले थप गरिएको समय अवधिमा पनि विस्तारको काम गर्न नसकिने बताउँदै थप पुस मसान्तसम्मका लागि ठेक्का अवधि बढाउनका लागि विभागमा प्रस्ताव पेश गरेको हो ।

कम्पनीले सम्झौता अवधि बढाउनका लागि विभागमा प्रस्ताव पेश गरेपनि विभागले सम्झौता अवधि लम्ब्याउने प्रक्रियाबारे कुनै आधिकारीक धारणा दिएको छैनन् ।

‘ठेकेदारले समय अवधि थप गर्नका लागि चक्रपथ विस्तार आयोजनामार्फत सडक विभागमा ठेक्का सम्झौता थप्नका लागि पत्र पठाएको हो, सो पत्रको अध्ययन गरेर सम्झौता अवधि थप्ने बारेमा निर्णय दिने छौं,’ प्रवक्ता गौतमले भने ।

के भन्छन् जनता ?

कलंकी चोकमा फलफुल बेचेर बसीरहेकी धादिङकी सिर्जना गुडु बाटोमा उँड्ने धुलोका कारण फलफुल किन्न मानिसहरु आउन छोडेको बताउँछिन् । सडकको धुलोका कारण उनको आँखामा समस्या देखिएको बताइन् ।

‘धुलोले स्वास्थ्य त विग्रियो, व्यापार नहुँदा घर व्यवहार धान्न मुस्किल परिसक्यो,’ उनले भनिन् ।

कलंकी निवासी इश्वर आचार्य आवश्यक घरायसी सामान किन्नका लागि कलंकी चोकमा आउने गरेको बताउँछन् ।

‘हामी कलंकीका स्थानीय हौँ, माक्स लगाइ हिडे पनि केही लाग्दैन, घर पुग्दा धुलाम्य भइन्छ,’ आचार्यले भने ।

साथीसँग घुम्न कलंकी आएकी सितापाइला निवासी रिबिका भट्ट कलंकीको धुलोका कारण स्वास्थ्यमा समस्या निम्त्यनुका साथै यसले गर्दा सडकमा केही नदेखिदा दुर्घटना हुने सम्भावना धेरै रहेको बताउँछिन् ।

‘धुलो धुवा स्वास्थ्यलाई खराब त छदैछ, तर यसरी हिँड्दा बाटोमा धुलोले केही देखिदैन, बाटोकाट्दा डर हुन्छ, यसले गर्दा दुर्घटना हुने डर हुन्छ,’ भट्टले भनिन् ।

बिरगञ्ज घर भएका कृष्ण गिरी कलंकीमा धुवा धुलो भएका कारण मान्छे बिमारीको सिकार हुनुपर्ने बताउँछन् । धुलोकै काराण बाटोमा धेरै गाडी जाम हुने उनको भनाइ छ ।

‘धुलोको कारण सबै बाटो जाम छ, गाडी चड्न समेत बल्खु जानु परिरहेको छ,’ गिरीले भने ।


पुष्प दुलाल