सेयरमा छिटो फाइदा लिनेको लगानी बीमा र लघुवित्तमा दीर्घकालमा लिनेको बैंकमा



काठमाडौं । सेयर बजार अहिले बढ्ने क्रममा छ । यद्यपी आजको भने नेप्से परिसूचक २७.६४ अंकले ओरालो लाग्यो ।

निरन्तर बढी रहेको हुँदा आज घटेको बजारलाई करेक्सनको रुपमा लिन सकिन्छ ।
नेप्से परिसूचक पछिल्लो २३ दिनमा मात्र २१४ अंकले बढेको छ ।

चैत १८ गते नेप्से परिसूचक ११९६ बिन्दुमा थियो भने चैत १९ गते ११९२ बिन्दुको तल्लो बिन्दुमा पुगेको थियो ।

त्यसपछि नेप्से परिसूचक बैशाख ९ गते १४३८.३९ बिन्दुमा पुग्यो । आज घटेर १४१०.८५ बिन्दुमा आएको छ ।

पछिल्लो २३ दिनको कारोबारलाई विश्लेषण गर्दा सेयर बजारमा लगानी गर्न चाहनेले बैंक तथा कारोबार गर्नेले बीमा र लघुवित्त कम्पनीलाई रोजेको देखिन्छ ।

सेयर बजारमा आपूर्ति संख्या कम भएको हुँदा बैंकको तुलनामा बीमा कम्पनी र लघुवित्तको सेयरको मुल्य बढी छ ।

अर्थात सेयर बजारमा छिटो फाइदा लिनेको रोजाई बीमा र लघुवित्त र लामो समयपछि फाइदा लिनेको रोजाई बैंक परेको देखिन्छ ।

यसको लागि बैंक र बीमा र लघुवित्त कम्पनीको सेयर मुल्य कसरी बढ्यो त्यसलाई हेरौ ।
सबैभन्दा पहिला सेयर बजारमा वाणिज्य बैंकमा सबैभन्दा बढी मुल्य रहेको नबिल बैंकको सेयर मुल्यलाई हेरौ ।

नबिल बैंकको चैत १८ गते सेयर मुल्य प्रतिकित्ता ९४५ थियो । आज बैशाख १० गते यसको कारोबार बन्द हुँदा सेयर मुल्य १०५० रुपैयाँमा पुगेको छ । पछिल्लो २३ दिनमा नबिलको सेयर जम्मा ११ प्रतिशतले बढेको छ ।

अब बीमा कम्पनीमा सबैभन्दा बढी बढेको युनाइटेड इन्स्योरेन्सको सेयर मुल्यलाई हेरौ । युनाइटेड इन्स्योरेन्सको सेयर मुल्य चैत १८ गते प्रतिकित्ता ७६५ थियो ।

३० करोड चुक्ता पुँजी रहेको कम्पनीले १ अर्ब चुक्ता पुँजी पुर्याउन २५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्यो । आज कारोबार बन्द हुँदा युनाइटेडको सेयर मुल्य प्रतिकित्ता ११७० पुगेको छ । पछिल्लो २३ दिनमा युनाइटेडको सेयर मुल्य ५२ प्रतिशतले बढ्यो ।

लघुवित्त कम्पनीमा फरवार्डको सेयर मुल्यलाई हेरौ फरवार्डको सेयर चैत १८ गते प्रतिकित्ता प्रतिकित्ता १६२२ थियो । आज कारोबार बन्द हुँदा २५१८ रुपैयाँ पुगेको छ । अर्थात पछिल्लो २३ दिनमा फरवार्डको सेयर मुल्य पनि ५५ प्रतिशतले बढ्यो ।

यसले छिटो समयमा प्रतिफल खोज्ने लगानीकर्ताले बीमा र लघुवित्तमा पैसा लगानी गरेको देखिन्छ । आपूर्ति कम भएको हुँदा यसको माग बढी हुँदा मुल्य बढी हुनु स्वभाविक पनि हो ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानलाई विश्लेषण गर्दै भन्छन्,‘पछिल्लो समय लगानी गर्नेहरु बैंकमा छिरेका छन्, कारोबार गर्नेहरु बीमा र लघुवित्तमा छिरेका छन्।’

बढ्दो ट्रेण्डमा छिटो फाइदा लिने कारोबारीको लागि बीमा र लघुवित्तमा लगानी गर्दा अहिले फाइदा हुने देखिन्छ ।

यस्तै नयाँ लगनीकर्ताको लागि भने सेयर बजार बुझ्दै लगानी गर्न बैंकको सेयर नै ठिक हुने विश्लेषकहरुको राय छ । यसमा विकास बैंक र फाइनान्स कम्पनीपनि लगानीकर्ताले कम्पनी हेरेर लगानी गर्न सुझाव दिन्छन् ।

खासगरी बीमा र लघुवित्तको सेयरमा उतारचढावपनि ठूलो रकमको नै आउने गर्छ । फाइदापनि ठूलो रकमको र घाटापनि ठूलो रकमको हुन्छ । बैंकमा भने यस्तो नाफा र घाटा कम हुन्छ ।


क्लिकमान्डु