यसकारण रोकियो एमाले र माओवादीको एकता



काठमाडौँ । नेकपा(एमाले) र माओवादी केन्द्रबीच आइतबर हुने भनिएको पार्टी एकताको घोषणासभा अन्ततः नहुने भएको छ ।

एकताका सम्बन्धमा केही जटिलता उत्पन्न भएको भन्दै आजका लागि तय गरिएको घोषणासभा अन्ततः एउटा सामान्य कार्यक्रममा सिमित हुने भएको छ ।

एकताका सम्बन्धमा पछिल्लो दिनमा दुई पार्टीबीच विवाद बढेको छ भने एकताका लागि देखिनेगरी छलफल समेत भएको छैन । बुधबार, बिहीबार तथा शुक्रबार भएका छलफल पनि निष्कर्षमा पुग्न नसकेपछि आज संयुक्त रुपमा लेनिन जयन्ती मनाउने कार्यक्रम तय गरिएको छ ।

एकताका सम्बन्धमा एकीकृत पार्टीमा के कति मात्रामा स्थायी समिति, पोलिटव्यूरो तथा केन्द्रीय समिति रहने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

माओवादी केन्द्रका नेताहरुले एमालले आफूहरुलाई एकता नभई विलय गराउन खोजेको आरोप लगाएका छन् । उनीहरुले एकताको सामान्य सिद्धान्त र प्रक्रियालाई समेत विथोलेर पार्टी प्रवेश मात्रै गराउन खोजेको बताएका छन् ।

एकताका सम्बन्धमा ठोस सहमति नभएका कारण आज राष्ट्रियसभा गृहमा दुवै पार्टीले सुंयुक्त रुपमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिनको स्मरण गर्ने भएका छन् ।

एकताका सम्बन्धमा कुरा मिल्न नसक्नुको पछाडि एमाले र माओवादीबीच माओवादीले सञ्चालन गरेको जनयुद्धका विषयमा सहमति जुट्न सकेको छैन ।

यस्तै एकतामा दुई पार्टीको संयुक्त केन्द्रीय समितिको आकार र प्रतिशतको विषयमा कुरा मिलेको छैन ।

एकता प्रक्रियालाई कहिले निष्कर्षमा पुर्याउने भन्ने बारेमा दुवै पार्टीका नेताले केही बताएका छैनन् ।


क्लिकमान्डु