अर्थमन्त्रीले व्यवसायीसँगको छलफलमा भने: प्रधानमन्त्री बालेन निजी क्षेत्रका सवालमा गम्भीर हुनुहुन्छ

133
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका समस्या समाधान र लगानीको वातावरण निर्माणका लागि सरकारको उच्च नेतृत्व नै लागिपरेको बताएका छन् ।

मंगलबार उद्योगी तथा व्यवसायीहरूसँगको छलफललाई सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारको अभिभावकीय भूमिका र सक्रियताबारे निजी क्षेत्रलाई आश्वस्त पारे ।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूसँग अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री स्वयं निजी क्षेत्रका सवालमा अत्यन्त गम्भीर रहेको बताए ।

‘म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रका सवालमा अत्यन्त गम्भीर हुनुहुन्छ,’ उनले भने, ‘मुख्य-मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायत मन्त्रिपरिषद्का सहकर्मीहरूसँग फलो-अप गरिरहनुभएको छ।’

प्रधानमन्त्रीको यो गम्भीरता र सक्रियताले सरकार निजी क्षेत्रलाई साथमा लिएर हिँड्न प्रतिबद्ध छ भन्ने पुष्टि गर्ने अर्थमन्त्रीको भनाइ थियो । उनले सरकारको सिंगो आर्थिक टोली एउटा स्पष्ट निष्कर्षमा पुगेको उल्लेख गर्दै स्वदेशी र विदेशी लगानीकर्ताको मनोबल नउठाई आर्थिक रूपान्तरण सम्भव नहुने स्पष्ट पारे ।

मन्त्री वाग्लेले निजी क्षेत्रका जायज मागहरूलाई तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने घोषणा समेत गरे । उनका अनुसार अब फाइलहरू थन्क्याउने पुरानो प्रवृत्ति अन्त्य गरी द्रुत गतिमा निर्णय र समाधान निकाल्ने ‘नयाँ कार्यसंस्कृति’ को सुरुवात गरिएको छ।

बजेटमार्फत ४२ वटा ऐनहरू संशोधन वा खारेजीको प्रक्रिया अघि बढाउनुको मुख्य उद्देश्य पनि लगानीमैत्री वातावरण बनाउनु नै रहेको उनले बताए ।

‘निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो,’ मन्त्री वाग्लेले भने, ‘त्यसैले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा गर्नु सरकारको उच्च प्राथमिकतामा छ।’