क्षमता विस्तार गर्दै धुलिखेल माउन्टेन रिसोर्ट, लगानी १ अर्ब १७ करोड पुग्ने

245
Shares

काभ्रेपलाञ्चोक । धुलिखेलको खावास्थित ‘धुलिखेल माउन्टेन रिसोर्ट’ले थप लगानी गरेर आफ्नो क्षमता विस्तार गर्ने भएको छ । रिसोर्टले हालको ९० बेडको क्षमतालाई बढाएर १७० पुर्‍याउने भएको हो ।

वि.सं. २०४० सालदेखि सञ्चालनमा रहेको यस रिसोर्टलाई २०८० मा नयाँ व्यवस्थापनले खरिद गरेको थियो ।

रिसोर्टको वातावरणीय प्रभाव मूल्यांन प्रतिवेदन अनुसार हाल रहेको ४० करोडको लगानीलाई बढाएर कुल ११७ करोड रुपैयाँ पुर्‍याउन लागिएको हो ।

रिसोर्टले थप ८० वटा बेड र ४० वटा कोठा थप्नका लागि मात्रै ६७ करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । यो रकमबाट २० वटा नयाँ भिल्ला र एक मुख्य ब्लक सहित २१ वटा नयाँ संरचना निर्माण गरिनेछ । निर्माण कार्य सुरु भएको १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

क्षमता विस्तारपछि रिसोर्टको कुल पुँजीगत लगानी ११७ करोड रुपैयाँ पुग्नेछ । यस कुल लगानीको ७५ प्रतिशत अर्थात् ८७ करोड ७५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिइनेछ । बाँकी २५ प्रतिशत अर्थात् २९ करोड २५ लाख रुपैयाँ प्रवर्द्धकहरूले स्वपुँजीका रूपमा लगानी गर्नेछन् । यो लगानी १५ वर्षभित्र फिर्ता हुने प्रक्षेपण गरिएको छ ।

रिसोर्टमा थप ४० वटा कोठा र ८० शय्या थपिनेछन् । यसका लागि २० वटा लक्जरी भिल्ला र एउटा मुख्य ब्लक सहित जम्मा २१ वटा नयाँ भौतिक संरचना निर्माण गरिनेछ ।

पर्यटकको आकर्षणका लागि रिसोर्टमा ६०० जना क्षमताको ब्याङ्क्वेट हल, स्विमिङ पुल, अत्याधुनिक स्पा, जिम हल र अन्तर्राष्ट्रिय स्तरको क्यासिनो ब्लक समेत निर्माण गरिनेछ । पार्किङका लागि ४० वटा चार पाङ्ग्रे र ८० वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने गरी ठाउँ छुट्टाइएको छ ।