
एजेन्सी । माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) मा धेरै ठूलो खर्च नगरी ह्याकरहरूसँग प्रभावकारी रूपमा लड्न आफ्नो नयाँ रणनीति सार्वजनिक गरेको छ ।
सोमबार कम्पनीले सफ्टवेयरमा रहेका कमजोरीहरू पत्ता लगाउन र तिनलाई सुधार गर्न मद्दत गर्ने उद्देश्यले विशेष साइबर सुरक्षा एआई मोडल एमएआई–साइबर–१–फ्ल्याश सार्वजनिक गरेको हो ।
माइक्रोसफ्टको दाबीअनुसार, यो सानो तर विशिष्ट कार्यका लागि बनाइएको मोडलले एन्थ्रोपिकको मिथोस ५ लाई उछिन्नुका साथै सुरक्षा कमजोरी पत्ता लगाउने लागतमा झण्डै ५० प्रतिशतले कटौती गर्नेछ ।
अहिलेको समयमा साइबर आक्रमणहरू पहिलेको तुलनामा निकै तीव्र र जटिल बन्दै गएका छन् । ह्याकरहरूले आफैं पनि आक्रमणहरूलाई स्वचालित बनाउन र सफ्टवेयरका कमजोरीहरू खोज्न एआईको प्रयोग बढाएपछि परम्परागत सुरक्षा उपकरणहरूलाई चुनौती थपिएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै माइक्रोसफ्टले साइबर रक्षाका लागि ठूला र सामान्य मोडलहरूको सट्टा ससाना तर विशिष्ट एआई मोडलहरूमा जोड दिएको हो जसले साइबर सुरक्षाका चुनौतीहरूलाई सटीक र द्रुत रूपमा सम्बोधन गर्न सकून् ।
माइक्रोसफ्टको नयाँ एआई मोडल एमएआई–साइबर–१–फ्ल्याश कम्पनीको सुरक्षा कमजोरी पहिचान र समाधान गर्ने प्रणाली एमड्याशको एक हिस्साको रूपमा रहनेछ । यसले सुरक्षा सम्बन्धी झण्डै ९० प्रतिशत कार्यहरू एक्लै सम्हाल्न सक्छ जसमा कमजोरी पहिचान गर्ने, सुधारका लागि प्याच बनाउने र ती सुधारहरूले काम गरे/नगरेको पुष्टि गर्ने कार्यहरू पर्छन् ।
यस प्रक्रियामा अत्यन्तै जटिल समस्याहरूलाई मात्र ओपनएआईको जीपीटी–५.४ मा पठाइनेछ । यो विधि अपनाउँदा साइबर जिम बेन्चमार्कमा यसले ९५.९५ प्रतिशत सफलता दर हासिल गरेको छ जुन प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकको तुलनामा करिब १२ प्रतिशतले बढी हो ।
नयाँ एआई मोडलका साथै माइक्रोसफ्टले प्रोजेक्ट पर्सेप्सन नामक अर्को नयाँ साइबर सुरक्षा मञ्च पनि सुरु गरेको छ । यसले संस्थाको प्रणालीमा रहेका सुरक्षा जोखिमहरूलाई निरन्तर स्क्यान गर्ने क्षमता राख्छ । माइक्रोसफ्टका अनुसार, अहिले आक्रमणकारीहरूले निकै दक्षताका साथ ठूलो स्तरमा आक्रमण गर्न सक्ने भएकाले सुरक्षा प्रणाली पनि उत्तिकै चुस्त र निरन्तर सक्रिय हुनु आवश्यक छ ।
यस मञ्चमा रातो, नीलो र हरियो गरी तीन प्रकारका विशिष्ट एआई एजेन्टहरू छन् । रातो टोलीले ह्याकरले भन्दा पहिले कमजोरी खोज्छ, नीलो टोलीले खतराहरूको विश्लेषण गरी कुन समस्यालाई तुरुन्त सम्बोधन गर्ने भन्ने निर्णय गर्छ र हरियो टोलीले प्रणाली बलियो बनाउन सुधारका उपायहरू लागू गर्छ ।
प्रोजेक्ट पर्सेप्सनले सुरक्षा सुधारका लागि कोड परिवर्तनको सुझाव दिनुका साथै ग्राहकको अनुमतिमा ती सुधारहरू स्वतः लागू गर्न पनि सक्छ । यसलाई अन्य कम्पनीका सुरक्षा उपकरणहरूसँग पनि सजिलै जोड्न सकिने गरी डिजाइन गरिएको छ ।
माइक्रोसफ्टले यस मञ्चलाई आगामी अगस्ट ३ देखि परीक्षणका लागि उपलब्ध गराउनेछ भने एमएआई–साइबर–१–फ्ल्याशलाई एजुर एआई फाउन्ड्री मार्फत प्रयोग गर्न सकिनेछ । सुरुमा सफ्टवेयरका कमजोरीहरू सुधार्न केन्द्रित रहने यो प्रणालीले भविष्यमा अन्य विविध साइबर सुरक्षा कार्यहरू पनि सम्हाल्ने लक्ष्य राखेको छ ।





प्रतिक्रिया