चीनमा शोधपत्रको साटो पुल र मशिन बनाएरै दिइँदैछ इन्जिनियरिङको विद्यावारिधि

126
Shares

एजेन्सी । विश्वका धेरैजसो देशहरूमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नका लागि सयौं पानाको शोधपत्र लेख्नु अनिवार्य शर्त मानिन्छ ।

सैद्धान्तिक ज्ञान, अनुसन्धान र हजारौं सन्दर्भ सामग्रीहरूले भरिएका ती शोधपत्रहरू यस्ता हुन्छन् जसलाई सम्बन्धित प्राज्ञिक व्यक्तिबाहेक अन्य थोरैले मात्र पढ्ने गर्छन् । तर, चीनले यस परम्परागत र किताबी प्रणालीलाई चुनौती दिँदै एउटा नयाँ र क्रान्तिकारी प्रयोग सुरु गरेको छ । चीनको यस कदमले विश्वभरको उच्च शिक्षाको परिभाषालाई नै बदल्न सक्ने देखिएको छ ।

सन् २०२४ मा पारित भएको नयाँ कानुनअनुसार, चीनका केही निश्चित विश्वविद्यालयहरूले अब इन्जिनियरिङ विधामा शोधपत्रको साटो ठोस भौतिक नमूना, नयाँ प्रविधि वा ठूला निर्माण कार्यहरूका आधारमा डाक्टर अफ इन्जिनियरिङको उपाधि दिन सक्नेछन् ।

यसको नियम एकदमै सरल र स्पष्ट छ— कुनै विद्यार्थीले वास्तविक जीवनमा उपयोगी हुने र ठूलो स्तरमा काम गर्न सक्ने केही नयाँ मशिन वा संरचना निर्माण गर्न सक्छन् भने उनीहरूले अनुसन्धानपत्र लेखिरहनु पर्दैन । उनीहरूको काम नै उनीहरूको योग्यताको प्रमाण हुनेछ ।

यस नयाँ शैक्षिक प्रणालीबाट दीक्षित हुने विद्यार्थीहरूको पहिलो समूहले आफ्नो अध्ययन सफलतापूर्वक पूरा गरिसकेको छ । तीमध्येका एक हुन् जेङ हेहुई जसले सिमेन्ट र स्टिलका यस्ता इन्टरलकिङ ब्लकहरू डिजाइन गरे जसलाई लेगो खेलौना जस्तै एकआपसमा जोडेर विशाल पुलका पिलरहरू बनाउन सकिन्छ ।

उनको यो आविष्कार कागजमा मात्र सीमित रहेन । बरु विश्वकै सबैभन्दा लामो केबल–स्टेड ब्रिज चाङताई याङ्त्से रिभर ब्रिजमा अहिले प्रयोग भइरहेको छ । देशको गौरवशाली परियोजनामा आफ्नो आविष्कार प्रयोग भएपछि उनलाई विश्वविद्यालयले डाक्टरको उपाधि प्रदान गरेको हो ।

त्यस्तै, हार्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका वेई लियनफेङले चीनको आणविक ऊर्जा संस्थानका लागि भ्याकुम लेजर वेल्डिङ प्रक्रिया विकास गरेर प्रयोगात्मक पीएचडी प्राप्त गर्ने पहिलो विद्यार्थीको कीर्तिमान बनाएका छन् ।

अर्का एक उम्मेदवारले ठूला समुद्री जहाजमा प्रयोग हुने अत्याधुनिक अग्निनियन्त्रक प्रणाली निर्माण गरेर आफ्नो शोध कार्य सम्पन्न गरे । हालसम्म कम्तीमा ११ जना इन्जिनियरहरूले यसरी हातैले काम गरेकै आधारमा डाक्टरको उपाधि पाइसकेका छन् । यसले इन्जिनियरिङमा नयाँ आयाम थपेको छ ।

सन् २०२२ देखि सुरु भएको यो अभियानमा चीनका ६० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र १०० भन्दा बढी ठूला कम्पनीहरूले सहकार्य गरिरहेका छन् । हालसम्म करिब २० हजार विद्यार्थीहरूले यस्ता प्रयोगात्मक पीएचडी कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन् ।

चीनको मुख्य उद्देश्य शैक्षिक सिद्धान्त र औद्योगिक प्रयोगबीचको बढ्दो खाडललाई घटाउनु हो । विशेषगरी, कृत्रिम बुद्धिमत्ता (एआई) र सेमिकन्डक्टर जस्ता संवेदनशील प्रविधिमा विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्न चीनले आफ्ना दक्ष जनशक्तिलाई सिधै उद्योग र कार्यथलोसँग जोड्न चाहेको छ ।

यसअघि पीएचडीका लागि पुस्तकालयमा बसेर वर्षौंसम्म सिद्धान्तहरू घोक्नु र लेख्नु नै अन्तिम खुड्किलो मानिन्थ्यो । तर, अहिले चीनमा कोही पुल बनाउँदैछन् त कोही आणविक पाटपुर्जा जोड्दैछन् र उनीहरूले पनि अरूले जस्तै सम्मानका साथ आफ्नो नामको अगाडि डाक्टर लेख्न पाउनेछन् ।

यस कदमले शिक्षालाई शैक्षिक प्रमाणपत्रमा मात्र सीमित नराखी देशको भौतिक विकास र औद्योगिक क्रान्तिसँग प्रत्यक्ष रूपमा जोडेको छ जसको सिको भविष्यमा अन्य मुलुकहरूले पनि गर्न सक्नेछन् ।