नागढुंगा सुरुङ उद्घाटन: विरोधमा उत्रिएका खानेपानी उपभोक्ता समितिलाई मन्त्री लम्सालले छलफलमा बोलाए

63
Shares

काठमाडौं । नागढुंगा सुरुङमार्ग उद्घाटन अघि उक्त क्षेत्रमा स्थानीय प्रदर्शन गरेका छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जाइकाका प्रमुख लगायतका अधिकारीहरूको उपस्थितिमा यो ऐतिहासिक परियोजनाको उद्घाटन गर्नुअघि विभिन्न समूहले विरोध प्रदर्शन गरेका हुन् ।

सुरुङमार्ग सञ्चालनमा आउन लाग्दा चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले भने आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विरोध जनाएका छन् ।

‘नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समिति’ को ब्यानरमा प्रदर्शनमा उत्रिएका स्थानीयले आयोजना प्रभावितलाई रोजगारीको ग्यारेन्टी, आकाशेपुल निर्माण र सडक पेटी फराकिलो बनाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्थासँगै निर्माणाधीन फ्लाई ओभरको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्न माग गरेका छन् ।

त्यस्तै सीमधारा दहचोक ४ खानेपानी उपभोक्ता समितिले पनि सुरुङमार्गमा प्रदर्शन गरेका छन् ।प्रदर्शनमा उत्रिएका स्थानीयलाई भौतिक मन्त्री सुनिल लम्सालले माग पूरा गर्ने भन्दै छलफलका लागि मन्त्रालयमा बोलाएका छन्।