कोशी र बागमतीका प्रमुख राजमार्ग अवरुद्ध, विपी र कान्ति लोकपथमा रातको समयमा यात्रा निषेध

0
Shares

काठमाडौं । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण निम्तिएको बाढी र पहिरोले मुलुकको सडक सञ्जालमा ठूलो असर पुर्‍याएको छ।

विशेषगरी कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ, जसका कारण कतिपय सडक पूर्ण रूपमा ठप्प छन् भने कतिपयमा एकतर्फी मात्र गाडी चलिरहेका छन्।

कोशी प्रदेशका पहाडी जिल्लाहरू भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ। इलामको राजदुवाली खण्डमा अविरल वर्षाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेको छ। अधिकारीहरूले सो क्षेत्रमा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सुझाव दिएका छन्।

यसैगरी, मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खामा गएको पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ। जसले गर्दा लामो दूरीका सवारी साधनहरू गन्तव्यमा पुग्न ढिलाइ भइरहेको छ।
बागमती प्रदेशमा रात्रिकालीन यात्रामा रोक

बागमती प्रदेशका प्रमुख सडकहरूमा बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रशासनले रातको समयमा सवारी चलाउन रोक लगाएको छ।

यस्तै बाढीको समभावित जोखिममा राख्दै विपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

दिनको समयमा पनि सडकको अवस्था हेरेर मात्र सवारी चलाउन अनुमति दिइने बताइएको छ।

यस्तै कान्ति लोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर जोड्ने यो वैकल्पिक राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रा गर्न निषेध गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा ठूलो पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध हुँदा सीमा क्षेत्रतर्फ जाने र फर्कने यात्रु तथा मालवाहक सवारी साधनहरू बीचैमा रोकिएका छन्।

प्रहरी र सडक विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेको भए पनि निरन्तरको वर्षाले कार्यमा कठिनाइ उत्पन्न भएको छ। यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाका ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न प्रशासनले आग्रह गरेको छ।