मेस्सीका छोरा थियागो: निरन्तर च्याम्पियन बन्दै, अर्जेन्टाइनको आशा

371
Shares

काठमाडौं । लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित नम्बर १० जर्सी लगाउँछन् ।

उनको खेल शैली भने बुबाभन्दा फरक मानिन्छ- गोल गर्ने र ड्रिबल गर्नेभन्दा बढी सिर्जनशीलता, दृष्टिकोण र डिफेन्सिभ वर्करेटका लागि उनी चिनिन्छन् ।

जुनियर लिगमा प्रदर्शन: थियागोको ट्रफी संग्रह निकै प्रभावशाली छ । उनले वेस्टन कप अन्डर-१२ (२०२४), वेस्टन कप अन्डर-१३ (२०२५), ड्रिम्स कप च्याम्पियनसिप (२०२५ अन्त्यतिर), फेरि ड्रिम्स कप (मे २०२६), र २०२६ को एमआईसी फुटबल पुन्टा केनअन्डर-१४ च्याम्पियनसिप जितेका छन् ।

यो अन्तिम टुर्नामेन्ट डोमिनिकन रिपब्लिकको पुन्टा कानामा जुन २४ देखि २९ सम्म आयोजना भएको थियो जसमा २० देशका १०३ टिम, २००० भन्दा बढी खेलाडी र २५० भन्दा बढी म्याचहरू भएका थिए । रोचक कुरा यो च्याम्पियनसिप जित्दा उनका बुबा मेस्सी टेक्ससको डलासमा जोर्डन विरुद्ध अर्जेन्टिनाको तर्फबाट खेल्दै थिए ।

तेह्र वर्षको उमेरदेखि इन्टर मियामीका एकेडेमी टिमहरू अमेरिका र क्यानडाको सर्वोच्च युवा विकास लिग एमएलएस नेक्स्टमा प्रतिस्पर्धा गर्छन् ।

यसै सिजनमा थियागोको टिम सल्ट लेक सिटीमा एमएलएस नेक्स्ट फाइनलसम्म पुगेको थियो तर ओर्लान्डो सिटी एससीसँग ३-२ ले हारेर उपविजेता भयो । उनी नोभेम्बरमा १४ वर्ष पुग्दैछन्।

अहिलेसम्म थियागो मेस्सीले अर्जेन्टिनाको आधिकारिक जुनियर राष्ट्रिय टिमबाट भने खेलेका छैनन् । उनले अर्जेन्टिना खेल्ने इच्छा भने स्पष्ट रूपमा व्यक्त गरेका छन् ।

थियागो जन्मले स्पेनिस हुन् (बार्सिलोनामा जन्मेका) र स्पेनको लागि पनि खेल्न पाउँछन् तर उनले स्पेनी टिमको तर्फबाट खेल्ने प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै अर्जेन्टिनाकै लागि खेल्ने दृढ इच्छा जनाएका छन् । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अर्जेन्टिनाको तर्फबाट… स्पेनमा जन्मेको हो, हो। तर मलाई कसैले मनाउन सक्छ जस्तो लाग्दैन ।’

२०३० को विश्वकपमा उनी १८ वर्षका हुनेछन् भन्दै फ्यानहरूले सुरुदेखि नै अर्जेन्टिना सिनियर टिममा उनको सम्भावित प्रवेशको कल्पना गर्न थालेका छन् ।

भविष्यमा अर्जेन्टिना फुटबल संघले उनलाई बोलाउने सम्भावना नकार्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मातेओ र सिरो मेस्सी: फरक-फरक शैली

मातेओ मेस्सी हाल १० वर्षका भए । आफ्नो हास्यबोध र अभिव्यक्तिपूर्ण व्यक्तित्वका लागि परिवारमा सबैभन्दा चिनिने अनुहार बनेका छन् उनी । मैदानमा भने गोल गर्न र प्रतिपक्षको पोस्ट नजिक रुचाउँछन्। मेस्सीले उनलाई ठ्याक्कै आफूजस्तै अत्यन्त प्रतिस्पर्धी र हार मन नपराउने बताएका छन् ।

सिरो मेस्सी हाल ८ वर्षका भए । सिरो सबैभन्दा विस्फोटक र एक-एक (वान अन वान) खेल अवस्थामा रुचि राख्नेमा मानिन्छन्, यद्यपि यो उमेरमा शैली र भूमिका पूर्ण रूपमा बदलिन सक्छ।

मेस्सी भने आफ्ना छोराहरूले जे मन पराउँछन् त्यही अपनाउन चाहन्छन् । फुटबल खेल्छन् तापनि यसलाई पेशेवर बाध्यताको रूपमा उनले सार्वजनिक रूपमा प्रस्तुत गरेका छैनन् ।

करियरको अन्त्यमा मेस्सी

लियोनेल मेस्सीको करियर आफैंमा एउटा इतिहास हो, जसको छायाँमुनि उनका छोराहरूले फुटबल सिक्दै छन् । सन् २००५ मा बार्सिलोनाका लागि पहिलो व्यवसायीक गोल गरेदेखि मेस्सीले लगातार दुई दशकभन्दा बढी समय क्लब र राष्ट्रिय टिम दुवैमा उत्कृष्ट प्रदर्शन कायम राखेका छन् ।

२०२६ सालको सुरुवातमै मेस्सीले आफ्नो व्यवसायीक करियरको ९०० औं गोल पूरा गरे । यो उपलब्धि हासिल गर्ने इतिहासकै दोस्रो खेलाडी बने, पहिलो क्रिस्टियानो रोनाल्डो थिए । जुलाई २०२६ सम्म आइपुग्दा उनको समग्र गोल संख्या ९०० नाघिसकेको छ, जसमा क्लब र राष्ट्रिय टिम दुवैका गोलहरू समावेश छन् । मेस्सीले क्लब र देशका लागि ११६४ खेलमा ९१९ गोल गरिसकेका छन् । यो गति कायम राखे उनी आफ्नो हालको सम्झौता अवधि (२०२८ सम्म) भित्रै १ हजार गोलको आँकडा छुने अनुमान गरिन्छ ।

उपाधि नै उपाधि

मेस्सीको उपाधि संग्रह पनि अद्वितीय छ । फुटबल इतिहासमा लियोनेल मेस्सीको नाम अहिले सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीको रूपमा दर्ज छ । क्लब र राष्ट्रिय टिम गरी हालसम्म उनले ४० भन्दा बढी आधिकारिक ट्रफी आफ्नो नाममा गरिसकेका छन्, जुन कुनै पनि फुटबलरको हकमा विश्व रेकर्ड हो ।

मेस्सीको फुटबल यात्रा सुरु भएको ठाउँ बार्सिलोना नै उनको सबैभन्दा सफल थलो बन्यो । सन् २००४ देखि २०२१ सम्मको २१ वर्षे कार्यकालमा उनले ला लिगा १० पटक, कोपा डेल रे सात–आठ पटक र युएफा च्याम्पियन्स लिग चार पटक जिते । यसका साथै स्पेनिस सुपर कप आठ पटक, फिफा क्लब विश्वकप तीन पटक र युएफा सुपर कप तीन पटक उनको ट्रफी सूचीमा थपिए । बार्सिलोनासँगै मात्रै ३५ वटा उपाधि जितेर उनले क्लब इतिहासकै सबैभन्दा सफल खेलाडीको दर्जा हासिल गरे ।

२०२१ मा पेरिस सेन्ट-जर्मन (पीएसजी) पुगेपछि मेस्सीले लगातार दुई सिजन लिग १ उपाधि जिते, साथै फ्रान्सेली सुपर कपमा पनि च्याम्पियन बने । त्यसपछि २०२३ मा अमेरिकी क्लब इन्टर मियामी पुगेका मेस्सीले त्यहाँ पनि आफ्नो जित्ने बानी कायम राखे- त्यही वर्ष लिग्स कप जिते, अर्को वर्ष सपोर्टर्स सिल्ड आफ्नो नाममा पारे, र २०२५ मा मियामीलाई क्लबकै इतिहासको पहिलो एमएलएस कप उपाधि दिलाए ।

राष्ट्रिय टिमको तर्फबाट भने मेस्सीको यात्रा लामो संघर्षपछि सुखद अन्त्यमा पुगेको हो । सन् २००५ मा अन्डर-२० विश्वकप र २००८ मा ओलम्पिक स्वर्ण पदक जितेर सुरु भएको उनको अन्तर्राष्ट्रिय उपाधि यात्रा २०२१ मा कोपा अमेरिका जितेपछि साँच्चै साकार भयो । त्यसको एक वर्षपछि नै २०२२ मा उनले फिनालिसिमामा युरोपियन च्याम्पियन इटाल्लाई हराए, र त्यही वर्षको अन्त्यमा कतारमा भएको फिफा विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएर आफ्नो करियरको सबैभन्दा ठूलो सपना पूरा गरे । त्यसपछि पनि उनको जित्ने क्रम रोकिएन -२०२४ मा फेरि कोपा अमेरिका जितेर उनले राष्ट्रिय टिमको उपाधि संख्या थप बढाए।

टिमगत उपाधिका साथसाथै मेस्सीको व्यक्तिगत पुरस्कार सूची पनि उत्तिकै लामो छ । उनले रेकर्ड आठ पटक बालोन डि’ओर, सात पटक फिफा वर्ल्ड प्लेयर अफ द इयर, छ पटक युरोपियन गोल्डेन सु र नौ पटक ला लिगा प्लेयर अफ द इयरको उपाधि जितेका छन् । विश्वकपमा दुई पटक (२०१४ र २०२२) र कोपा अमेरिकामा दुई पटक गोल्डेन बल पुरस्कार पनि उनकै नाममा छ।

२०२६ को विश्वकपमा पनि मेस्सीले आफ्नो छाप छाडे । ३९ वर्षको उमेरमा समेत उनले टुर्नामेन्टमा आठ गोल गरी अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याए, यद्यपि फाइनलमा टिम पराजित भयो । यही टुर्नामेन्टमा उनले मिरोस्लाभ क्लोजेको विश्वकप-इतिहासकै सबैभन्दा धेरै गोलको कीर्तिमान तोडेका थिए ।

के छोराहरूले विरासत धान्न सक्लान्?

मेस्सीका छोराहरूको फुटबल यात्रालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्सुकता र सावधानी दुवै दृष्टिले हेरेको पाइन्छ ।

धेरै मिडियाले भन्छन्- अर्जेन्टिना भविष्यमा मेस्सीविना खेल्नुपर्ने भए पनि प्रशंसकहरूले मेस्सी-विरासत छोराहरूमार्फत कायम रहने सपना देख्न थालेका छन्, किनकि तीनवटै छोरा हाल फुटबल खेलिरहेका छन् र व्यवसायीक खेलाडी बन्ने आकांक्षा राख्छन्।

तर बुबाको तहसम्म पुग्नु निकै ठूलो चुनौती हो । मातेओका बारेमा लेख्दै एउटा प्रतिवेदनले भनेको छ, उनी बुबाकै पदचिह्न पछ्याउने अपेक्षा गरिए पनि त्यो उच्च अपेक्षामा उनी खरो उत्रन सक्छन् कि सक्दैनन् भन्ने अझै हेर्न बाँकी छ ।

मेस्सी आफैंले भने सार्वजनिक रूपमा दबाब कम गर्ने प्रयास गर्दै आएका छन् । थियागो जन्मनुअघि नै उनले भनेका थिए, छोरा जे बन्न चाहन्छ त्यही बन्न पाउनुपर्छ र त्यो निर्णय उनको, आमाको र सबैको लागि स्वीकार्य हुनेछ । पछि पनि उनले दोहोर्‍याउँदै आएका छन् कि छोराहरूले फुटबल नै रोजून् भन्ने उनको आग्रह छैन – तिनले जे मन पराउँछन् त्यही अपनाउन पाउनुपर्छ ।

एकातिर थियागोको जुनियर स्तरको निरन्तर सफलता र मातेओ-सिरोको प्रतिभाले आशाको संकेत दिन्छ, अर्कोतिर विश्लेषकहरू सजग छन् कि मेस्सी जस्तो ऐतिहासिक स्तरसँग तुलना गर्नु आफैंमा अन्यायपूर्ण हुन सक्छ र वरिष्ठ अन्तर्राष्ट्रिय स्तरमा पुग्नु अझै धेरै वर्ष र निरन्तर परिश्रमको विषय हो ।

एजेन्सीहरूको सहयोगमा