मेस्सीसँगै खेल्न भन्दै मियामी गएका ब्राजिलयन स्टार क्यासेमिरो माथि छानबिन सुरू

728
Shares

एजेन्सी । अमेरिकी फुटबल क्लब इन्टर मियामीले ब्राजिली मिडफिल्डर क्यासेमिरोलाई साइन गरेको केही घण्टामै मेजर लिग सकर (एमएलएस) ले क्लबविरुद्ध औपचारिक ट्याम्परिङ छानबिन सुरु गरेको छ ।

के भयो?

एमएलएसले बुधबार ब्राजिली डिफेन्डर क्यासेमिरोको साइनिङमा इन्टर मियामीविरुद्ध ट्याम्परिङ आरोपको समीक्षा गर्ने घोषणा गर्‍यो । कुनै क्लबले अर्को क्लबको (वा खेलाडीको) अधिकार भएको खेलाडीसँग अनुमति नलिई गैरकानुनी रूपमा सम्पर्क वा वार्ता गर्नु ट्याम्परिङ हुन जान्छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व स्टार तथा ३४ वर्षीय यी मिडफिल्डरले हालै सकिएको २०२६ विश्वकपमा ब्राजिलका लागि खेलेका थिए।

लिगले जारी गरेको आधिकारिक विज्ञप्तिलाई उद्धृत गर्दै ईएसपीएनले भनेको छ, ‘मेजर लिग सकरले इन्टर मियामी सिएफविरुद्ध ट्याम्परिङ आरोपको समीक्षा गर्दैछ। लिगले सान्दर्भिक जानकारी सङ्कलन गर्दैछ र समीक्षा नटुंगिएसम्म थप टिप्पणी गर्नेछैन ।’

विवादको जड: डिस्कभरी राइट्स

एमएलएसको नियमअनुसार क्लबहरूले एकैचोटि पाँच जना खेलाडीलाई आफ्नो ‘डिस्कभरी लिस्ट’मा राख्न पाउँछन्, जसले उक्त खेलाडीसँग सर्वप्रथम वार्ता गर्ने विशेष अधिकार दिन्छ । यस प्रकरणमा एलए ग्यालेक्सीसँग क्यासेमिरोको यही डिस्कभरी राइट्स रहेको एमएलएसले पुष्टि गरेको ईएसपीएनले जनाएको छ ।

यदि कुनै क्लबले अर्को क्लबको उच्च डिस्कभरी प्राथमिकता भएको खेलाडी साइन गर्न चाहन्छ भने, त्यो क्लबलाई ५०,००० डलर जनरल एलोकेसन मनी तिरेर सो अधिकार खरिद गर्नुपर्ने नियम रहेको छ ।

अहिलेसम्म भएको समाधान

इन्टर मियामी र एलए ग्यालेक्सीले डिस्कभरी प्राइरिटीका लागि आपसमा सम्झौता गरिसकेका छन्, तर यसका सर्तहरू भने ट्याम्परिङ छानबिन नटुंगिएसम्म गोप्य राखिनेछ ।

क्यासेमिरोको प्रतिक्रिया

छानबिनको बीचमा क्यासेमिरोले भने, ‘मैले ग्यालेक्सीसँग पहिले नै कुरा गरिसकेको थिएँ । मैले उनीहरूलाई स्पष्ट भनेको थिएँ कि म मियामी जोडिन चाहन्छु किनभने यो सहर मलाई मन पर्छ ।’

आफ्नो परिवार बारम्बार मियामी आउने गरेको र यो सहर राम्ररी चिनेको र लियोनेल मेसीसँगै खेल्ने अवसरले पनि उनलाई आकर्षित गरेको बताएको ईएसपीएनले उल्लेख गरेको छ।

पृष्ठभूमि

क्यासेमिरो मान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि यस गर्मीमा फ्री एजेन्ट भएका थिए र अब उनी मियामीसँग २०२७ सिजनसम्म तथा सम्भावित रूपमा जुन २०२९ सम्म विस्तार हुनसक्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

इन्टर मियामी एमएलएसको अनुशासनात्मक कारबाहीको सामना गरेको यो पहिलो पटक भने होइन ।

२०२१ मा ब्लेज माटुइदीको साइनिङसम्बन्धी स्यालरी क्याप उल्लङ्घनका लागि क्लबलाई रेकर्ड २० लाख डलर जरिवाना तिर्नुपरेको थियो।