
काठमाडौं । नेपालका लागि म्याक्सस सवारीसाधनको आधिकारिक वितरक हिमालय मोटोकर्पले आफ्नो बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । हिमालय अर्गनाइजेसन अन्तर्गतको यस कम्पनीले मंगलबार एक कार्यक्रमका बीच अत्याधुनिक विशेषतायुक्त यो ४-ह्विल ड्राइभ पिकअपको बिक्री सुरु गरेको हो ।
कम्पनीले यस गाडीको बजार मूल्य ८८ लाख रुपैयाँ तोकेको छ जुन पहिलो ५० जना ग्राहकका लागि मात्रै लागू हुनेछ ।
ई-टेरोन ९ मा १०२.२ किलोवाट आवर क्षमताको उच्च घनत्व भएको ब्याट्री प्याक जडान गरिएको छ । एनईडीसी मापदण्ड अनुसार यसले एक पटकको पूर्ण चार्जमा ५६० किलोमिटरसम्मको ‘रेन्ज’ प्रदान गर्दछ । फास्ट चार्जिङका लागि ११५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने यस गाडीलाई मात्र ४२ मिनेटमा २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा मोटरहरू रहेका छन्, जसले संयुक्त रूपमा ६०० एनएम टर्क पैदा गर्दछन् । शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ५.८ सेकेन्डमा तय गर्न सक्ने यो पिकअपको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
नेपालको कठिन भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यसमा ‘अल-टेरेन सिस्टम’ समावेश गरिएको छ । ५४५ मिमीको वाडिङ डेप्थ (पानीमा चल्न सक्ने क्षमता), २९ डिग्रीको एप्रोच एंगल र २५ डिग्रीको डिपार्चर एंगलले यसलाई उत्कृष्ट अफरोडर बनाएको छ । व्यावसायिक प्रयोजनका लागि १,०५० केजी भारवहन क्षमता र ३,५०० केजीसम्मको टोइङ क्षमता यसका सबल पक्ष हुन् ।
गाडीको इन्टेरियरलाई निकै आधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.३ इन्चका दुईवटा स्क्रिन (इन्स्ट्रुमेन्ट क्लस्टर र सेन्ट्रल टचस्क्रिन) रहेका छन् । एप्पल कारप्ले, एन्ड्रोइड अटो, ८ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट र बाहिरी उपकरण चलाउन मिल्ने ‘भेहिकल-टु-लोड’ जस्ता सुविधाहरूले यसलाई प्रविधिमैत्री बनाएका छन् ।
सुरक्षाका दृष्टिले यो गाडी विश्वकै प्रतिष्ठित ‘युरो एनक्याप’ बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल भएको छ । हिमालय मोटोकर्पले ग्राहकको सुविधाका लागि देशका ६ वटा प्रमुख सहरहरूमा आधिकारिक सर्भिस आउटलेटहरू मार्फत बिक्रीपछिको सेवा सुनिश्चित गरेको जानकारी दिएको छ ।
आरामदायी यात्रा, शक्तिशाली प्रदर्शन र उच्च भारवहन क्षमताका कारण म्याक्सस ई-टेरोन ९ नेपाली सडक र व्यावसायिक आवश्यकताका लागि एउटा भरपर्दो विकल्प हुने कम्पनीको विश्वास छ ।





प्रतिक्रिया