
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।
साउनको अन्तिम साता उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ जान लागेको रास्वपा स्रोतले जानकारी दियो।
यो भ्रमण मुख्यत: ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारमा केन्द्रित रहने उनको भनाइ छ ।
भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका अन्य उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने छन् ।
चीन भ्रमणका लागि सभापति लामिछानेलाई अघिल्लो संसद् कालमै निम्तो आएको भए पनि यसपटकको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपालमा गत फागुन २१ पछि बदलिएको राजनीतिक परिस्थिति र नयाँ सरकार गठनपछि छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई थप गहिरो बनाउने लामिछानेको उद्देश्य रहेको बताइएको छ । विशेषगरी सरकार र छिमेकी मुलुकका राजदूतहरूबीच खासै संवाद हुन नसकिरहेको अवस्थामा लामिछानेले यो कूटनीतिक अग्रसरता लिएका हुन् । नेपाल-चीन सम्बन्धलाई थप मजबुत र अर्थपूर्ण बनाउनु नै यो भ्रमणको मुख्य एजेन्डा रहेको स्रोतको भनाइ छ ।
भ्रमणमा लामिछानेबाहेक टोलीका अन्य सदस्यको नाम भने अझै सार्वजनिक गरिएको छैन ।
यसअघि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्केका थिए । सोही प्रकृतिको उच्चस्तरीय भेटघाट यसपटक चीनमा पनि हुने रास्वपा स्रोतको भनाइ छ । यसअघि जेठ १७ मा काठमाडौंका मेयर बालेन शाहले संसद्मा सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै लामिछाने भारत भ्रमणमा निस्किएका थिए ।
त्यतिबेला उनी भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सह-महामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरासहित नयाँ दिल्ली पुगेका थिए । सो भ्रमणमा उनले प्रधानमन्त्री मोदीसहित कूटनीतिक अधिकारीहरूसँग सीमा विवाद र द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए ।
चीन भ्रमणका क्रममा पनि लामिछानेले भारत भ्रमणकै शैलीमा राजनीतिक भेटघाटलाई तीव्रता दिने र पछिल्लो राजनीतिक घटनाक्रमबारे चिनियाँ पक्षलाई विश्वासमा लिने प्रयास गर्ने छन् ।





प्रतिक्रिया