आईपीओ जारी गर्ने प्रस्ताव सहित ह्याम्सले बोलायो साधारण सभा

70
Shares

काठमाडौं । हस्पिटल फर एडभान्सड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स हस्पिटल) ले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी साउन २९ गते शुक्रबार साधारण सभा बस्ने भएको हो ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित ‘स्मार्ट दरबार’मा दिउँसो २:०० बजे सुरू हुनेछ ।

साधारण सभामा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपी‌‌ओ) निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदैछ । अस्पतालले सर्वसाधारण समूहलाई सेयर जारी गर्ने र सो सार्वजनिक निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग गर्ने सम्बन्धमा विशेष छलफल गरी निर्णय गर्नेछ ।

साथै, सेयर निष्काशनका क्रममा नियमनकारी निकायहरूको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन, परिमार्जन वा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत सभामा पेश गरिनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदनका लागि पेश गरिनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि तय गरिएको छ ।