नाडा अध्यक्ष सुरेन्द्र उप्रेतीको कम्पनीले ११ महिनामा गर्यो १ अर्ब बढीको व्यापार, बेच्छन् सियाट टायर

147
Shares

काठमाडौं । नेपालको लागि सिट ब्रान्डको टायरको आधिकारिक विक्रेता एसटीसी अटो प्रालिले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवको ११ महिनाको अवधिमा १ अर्ब १९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।

यो कम्पनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीको हो ।

कम्पनीले सन् २०२५ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब १८ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १० करोड २० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब १८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको कारोबार सन् २०२५ मा ७ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै गत आवको ११ महिनाको अवधिमा वार्षिक कारोबारअनुसार ३ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ । कम्पनीले गरेको कारोबारमध्ये गत आवमा ३९ प्रतिशत हिस्सा दुई पाङ्ग्रे टायर सेग्मेन्टको छ । त्यसपछि व्यवसायिक सवारी साधनको टायर सेग्मेन्टको हिस्सा ३२ प्रतिशत र सार्वजनिक सवारी साधन सेग्मेन्टको ३२ प्रतिशत हिस्सा छ ।

गत आवमा गरेको कुल व्यापारमध्ये कम्पनीको सञ्चालन नाफा मार्जिन ५.८ प्रतिशत छ । सन् २०२५ मा सञ्चालन नाफा मार्जिन ५.६ प्रतिशत थियो । यता कम्पनीको खुद नाफा मार्जिनमा पनि सुधार आएको छ । कम्पनीको सन् २०२५ मा उच्च लाभांश वितरण अनुपात थियो । कम्पनीले सो वर्ष १४३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत आवमा कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात ६.५ गुणा रहेको छ । त्यस्तै, कर्जा सेवा कवरेज अनुपात १.१ गुणा रहेको छ । सन् २०२५ मा कर्जाको वार्षिक किस्ता र सञ्चालन नाफा बराबर थियो ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले विशेषगरी दुई पाङ्ग्रे सवारी साधनको टायर बिक्री वितरण गर्दै आएको छ । देशभर तीन वटा शाखा कार्यालय रहेको कम्पनीको २ सय ५० वटाभन्दा बढी डिलर छन् । सुरेन्द्र उप्रेती र भोलेश्वर दुलालको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।