
काठमाडौं । असार सकिँदा मुलुकभर झन्डै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
कृषि विभागका अनुसार बिहीबारसम्म मुलुकभर ६१.६२ प्रतिशत धान रोपाइँ भएको हो ।
गत वर्ष यस अवधिमा ७२.१४ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुुलनामा अहिले १२ प्रतिशत रोपाइँ कम भएको हो । समयमा पानी नपरेकाले यस वर्ष धान रोपाइँमा कमी भएको हो ।
विभागका अनुसार मुलकभर धान खेतीयोग्य १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म आठ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको छ ।
असार सकिँदा पनि अझै पाँच लाख २४ हजार ४९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी रहेको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश कुल एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये एक लाख ३६ हजार ३२ हेक्टर (८७.८० प्रतिशत) मा रोपाइँ सकिएको छ ।
यस्तै सबैभन्दा कम कोशी प्रदेशमा ५४.९० प्रतिशत अर्थात् एक लाख ५१ हजार ६१९ हेक्टर रोपाइँ भएको छ । कोशीमा दुई लाख ७६ हजार ३८७ हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ ।
मधेश प्रदेशमा सबैभन्दा धेरै तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य जमिन रहेको हालसम्म ५७.९० प्रतिशत अर्थात् दुई लाख २१ हजार ५४७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
यस्तै बागमती प्रदेशमा ५७.१ प्रतिशत अर्थात् ६५ हजार ४४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने गर्छ ।
यस्तै गण्डकी प्रदेशमा ६५.९ प्रतिशत ६१ हजार ७२७ हेक्टर हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत एक लाख ७९ हजार ६३१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
गण्डकी प्रदेशमा ९३ हजार ३०६ हेक्टर र लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफल रहेको छ ।
कर्णाली प्रदेशमा ६०.२ प्रतिशत २६ हजार ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ४३ हजार २९० हेक्टर रहेको छ ।
राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक एवं धानबाली विज्ञ डा उज्ज्वलकुमार कुशवाहाले यस वर्ष धान रोपाइँ कम हुँदा उत्पादन घट्ने देखिएको जानकारी दिए।
तराईमा साउन दोस्रो सातासम्म धान रोप्न उपयुक्त हुने भएकाले त्यतिबेलासम्मको रोपाइँको अवस्था हेरेर कति घट्छ भनेर आकलन गर्न सकिने उनको भनाइ छ ।
पहाडमा असार अन्तिमसम्म र साउनमा दोस्रो सातासम्म धान रोप्न सकिने र त्यसभन्दा अघिपछि धान रोप्दा उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ ।





प्रतिक्रिया