
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलरको कार्यशैलीलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएको छ।
कारागारका जेलर रूपक मण्डलले आर्थिक चलखेल गरी ‘चौकीदार’ नियुक्ति गरेको आरोप लगाउँदै कैदीबन्दीहरू विगत तीन दिनदेखि आन्दोलित भएका छन्।
जेलर मण्डलले मोटो रकम असुलेर चौकीदार नियुक्त गरेको भन्दै कैदीबन्दीहरूले उनको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन्।
आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। सो क्रममा केही कैदीबन्दीहरूले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि सुरक्षाकर्मी पछि हट्न बाध्य भएका थिए।
विवादको मुख्य कारण ५ लाख रुपैयाँको आर्थिक लेनदेन रहेको खुलेको छ। राजविराज–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाउने प्रलोभनमा जेलर मण्डलका लागि भन्दै ५ लाख रुपैयाँ घुस लिएको दाबी गरेका छन्।
साहका अनुसार गत जेठ ५ गते कारागार बाहिरका विनोद यादवमार्फत तत्कालिन चौकीदार कामेश्वर यादवले सो रकम बुझेका थिए।
पैसा बुझाउँदा पनि आफूलाई चौकीदार नबनाइएको र कारागार प्रशासनले आर्थिक अनियमितता गरेको भन्दै कैदीबन्दीहरूले नाराबाजी र प्रदर्शन जारी राखेका छन्।
जेलभित्रै आत्मदाहको प्रयास भएपछि अहिले कारागार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने स्थानीय प्रशासनले स्थितिलाई साम्य पार्ने प्रयास गरिरहेको छ।





प्रतिक्रिया