फोर्ड लगायतका गाडी बेच्ने आकाश गोल्छाको कम्पनीले ९ महिनामा गर्‍यो ५० करोडको व्यापार

231
Shares

काठमाडौं । गोल्छा परिवारको जीओ अटोमोबाइल्सले चालु आर्थिक वर्षको ९ महिनामा ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२५ मा ७९ करोड ९० लाख रुपैयाँ, सन् २०२४ मा ८३ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ८२ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीकाअनुसार गत आवमा ६ प्रतिशत नकारात्मक सञ्चालन नाफा मार्जिन गरेको थियो भने चालु आवको ९ महिनाको अवधिमा ५ प्रतिशत नकारात्मक मार्जिन रहेको छ ।

पछिल्ला दुई वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिन नकारात्मक भएकाले ऋण भुक्तानी क्षमता दबाबमा रहेको छ ।

कम्पनीको चालु आवको ९ महिनाको अवधिमा ऋण सेवा कवरेज अनुपात १.४ गुणा रहेको छ । कम्पनीको गत आव र चालु आवको ९ महिनाको अवधिमा कुल आम्दानीको १४ प्रतिशत गैर–सञ्चालन आम्दानी रहेको छ ।

कम्पनी फोर्ड, एमजीको केही मोडलका गाडी र काइयी ब्रान्डको सवारी साधन बेच्ने राष्ट्रिय डिलर हो । गोल्छा परिवारको ७१ प्रतिशत अर्थात् आकाश गोल्छाको अधिकांश स्वामित्व रहेको कम्पनी गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित कम्पनी हो । कम्पनीको देशभर उपस्थिति छ । कम्पनीको सात वटा प्रादेशिक डिलर र आफ्नै सोरुम छन् ।

आकाश गोल्छा प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १० करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६९ करोड रुपैयाँको रेटिङ गराएको हो ।