४ खर्बको पुँजीगत बजेटबाट १ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च, राजस्व लक्ष्यभन्दा १७% कम संकलन

7
Shares


काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब ७ अर्ब रुपैयाँको पुँजीगत बजेटबाट १ खर्ब ९० अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

सुशासनको अभियान चलाइरहेका बालेन्द्र शाह नेतृत्वले साढे तीन महिना गत आर्थिक वर्षमा सरकार चलाउदासमेत विगतका वर्षहरुमा भन्दा पनि कम पुँजीगत खर्च भएको छ ।

गत आर्थिक वर्षमा सरकारले जम्मा ४६.७९ प्रतिशत मात्रै पुँजी गत खर्च गर्न सकेको छ । यस्तो खर्च लक्ष्यका ५३ प्रतिशत कम भएको देखिन्छ छ । यो तथ्यांक अनुसार सरकारले विनियोजन गरेको विकास निर्माणमा गर्ने बजेटबाट गरेको खर्चभन्दा पनि गर्न गर्न नसकेको रकम भने धेरै छ । गत सरकारले कुल विनियोजित पुँजीगत बजेटबाट २ खर्ब १७ अर्ब रुपैयाँ खर्च गर्न सकेन ।

गत आवमा सरकारले लक्ष्यको तुलनामा राजस्व संकलनसमेत ८३ प्रतिशत मात्रै गर्न सकेको छ । सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ गत वर्ष राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि जम्मा १२ खर्ब ४१ अर्ब रुपैयाँमात्रै संकलन गर्न सकेको छ । गैरकर र अन्य राजस्वसमेत गरेर जम्मा १२ खर्ब ८० अर्ब संलकन गर्न सकेको देखिएको छ ।

सरकारले एक वर्षमा गरेको १२ खर्ब ८० अर्ब रुपैयाँको आम्दानीबाट गरेको खर्च भने १५ खर्ब ८२ अर्ब रुपैयाँ छ । उक्त खर्च आन्तरिक र बाह्य ऋणसहित हो ।

गत वर्षको जेठसम्ममा सरकारले ७९ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण संकलन गरेको छ भने आन्तरिक ऋण ३ खर्ब ३८ अर्ब रुपैयाँ गरेर कुल ४ खर्ब १८ अर्ब रुपैयाँ उठाएको देखिन्छ । यो ऋणमा असार महिनाको तथ्यांक जोड्नुपर्ने हुन्छ ।

सरकारले गत वर्ष गरेको आम्दानीभन्दा खर्च करिब ३ खर्ब रुपैयाँ बढी छ । आम्दानीलाई धान्न नसक्ने खर्चलाई सरकारले ऋणबाटै धान्ने गरेको छ ।