भारतीय अधिकारकर्मी सोनाम वाङचुकको आमरण अनशन २०औं दिनमा, स्वास्थ्य अवस्था चिन्ताजनक

0
Shares

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा रहेको जन्तर मन्तरमा अनिश्चितकालीन आमरण अनशनमा रहेका अधिकारकर्मी तथा शिक्षाविद् सोनाम वाङचुकको स्वास्थ्य अवस्था १९औं दिनमा निकै बिग्रिएपछि दिल्ली उच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई उनको स्वास्थ्यको नियमित अनुगमन सुनिश्चित गर्न आदेश दिएको छ ।

वाङचुकको अवस्था अब क्रिटिकल अर्थात् चिन्ताजनक चरणमा प्रवेश गरेको छ चिकित्सकहरूले बिहीबार चेतावनी दिएका छन् । उनको नियमित परीक्षण गरिरहेका डा. सतीश लाम्बाका अनुसार, वाङचुकको तौल ९ केजीभन्दा बढी घटेको छ र उनको शरीरले अब मांसपेशी खपत गर्न थालेको छ । त्यसको असर अब भित्री अंगहरूमा पर्न सक्ने जोखिम छ ।

यस्तो गम्भीर अवस्थामा पनि वाङचुक आफ्नो अडानमा अडिग छन् । सरकारबाट कुनै प्रतिक्रिया नआएसम्म अनशन तोड्दा गलत सन्देश जाने भन्दै उनले बरु जुलाई २० मा कक्रोच जनता पार्टी (सीजेपी) ले गर्ने भनिएको संसद् मार्चलाई थप सशक्त बनाउन मानिसहरूलाई आग्रह गरेका छन् ।

देशको शिक्षा प्रणालीमा देखिएका समस्या र अनियमिततालाई लिएर उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन् । दिल्ली उच्च अदालतले सरकारी डाक्टरहरू मार्फत उनको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने आदेश जारी गरेको छ ।

वाङचुकको समर्थनमा देशका विभिन्न क्षेत्रबाट आवाजहरू उठिरहेका छन् । सिक्किम विश्वविद्यालयका विद्यार्थी संघले उनको आन्दोलनलाई समर्थन गर्दै सार्वजनिक परीक्षाहरूमा पारदर्शिता र जवाफदेहिताको माग गरेको छ । अनशनको २०औं दिनमा प्रवेश गर्दै गर्दा वाङचुकले आफू जुलाई २० सम्म जसरी पनि जीवित रहने दृढता व्यक्त गरेका छन् ।

फिल्मकर्मी किरण रावले पनि सामाजिक सञ्जाल मार्फत वाङचुकलाई समर्थन गर्दै १९ दिन बितिसक्दा पनि सत्तामा बस्नेहरू पूर्ण रूपमा मौन रहनुलाई स्तब्ध पार्ने र अमानवीय भनेकी छन् ।

यसैबीच, बलिउड अभिनेता आमिर खानले फिल्म थ्री इडियट्सको आफ्नो पात्र फुङसुक वाङ्डु वाङचुकमा आधारित नभएको स्पष्ट पारेका छन् । यसलाई एउटा भ्रम भन्दै आमिरले फिल्म निर्माणको समयमा आफू वा लेखकहरूलाई वाङचुकबारे थाहा नभएको बताए ।

तर, वाङचुकले गरिरहेको काम निकै राम्रो भएको र उनीप्रति आफ्नो सम्मान रहेको बताउँदै आमिरले वाङचुकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे र उनलाई अनशन तोड्न आग्रह गरे ।

महाराष्ट्रका विपक्षी राजनीतिज्ञहरूले पनि वाङचुकको पक्षमा आवाज उठाएका छन् । एनसीपी (एसपी) का नेता जयन्त पाटिलले वाङचुकलाई राष्ट्रिय सम्पत्ति भन्दै परीक्षाका प्रश्नपत्र चुहावट जस्ता अनियमितताको जिम्मेवारी लिन सरकार असफल भएको आरोप लगाएका छन् ।

उनले सरकारलाई यस विषयको समाधान खोज्न र वाङचुकको ज्यान जोखिममा नपार्न आग्रह गरेका छन् । विपक्षी दलहरूले सरकारले वाङचुकसँग संवाद नगरेकोमा कडा आलोचना गरेका छन् ।