
एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले बिहीबार विदेशी विद्यार्थी, सांस्कृतिक विनिमय आगन्तुक र पत्रकारहरूको भिसा अवधिमा कडाइ गर्ने कदम चालेको छ ।
यस अन्तर्गत अधिकांश विद्यार्थी र विनिमय भिसा वाहकहरूका लागि अधिकतम चार वर्षको निश्चित बसाइ प्रस्ताव गरिएको छ । यसले हालको प्रणालीलाई प्रतिस्थापन गर्नेछ जसले उनीहरूलाई आफ्नो शैक्षिक कार्यक्रम वा अधिकृत रोजगारीको अवधिसम्म अमेरिकामा रहन अनुमति दिन्थ्यो ।
गृह सुरक्षा विभाग (डीएचएस) को अन्तिम नियमले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जारी गरिने एफ भिसा, अमेरिकामा काम गर्न सक्ने सांस्कृतिक विनिमय आगन्तुकहरूका लागि जे भिसा र विदेशी सञ्चारमाध्यमका सदस्यहरूका लागि आई भिसाका लागि निश्चित प्रवेश अवधिहरू तय गरेको छ ।
नयाँ नियम अनुसार, विद्यार्थी र विनिमय भिसाहरू सामान्यतया चार वर्षभन्दा बढीका लागि मान्य हुने छैनन् । त्यस्तै, पत्रकार भिसाहरू हाल वर्षौंसम्म रहन सक्थे तर अब २४० दिनमा सीमित हुनेछन् भने चिनियाँ नागरिकहरूको हकमा यसलाई ९० दिनमा सीमित गरिनेछ ।
भिसा वाहकहरूले म्याद थपका लागि आवेदन दिन भने सक्नेछन् ।
संसद्को समीक्षाको अधीनमा रहँदै यो नियम फेडरल रजिस्टर (संघीय राजपत्र) मा प्रकाशित भएको ६० दिन पछि लागू हुने तालिका छ ।
ट्रम्प प्रशासनले कानुनी आप्रवासन नीतिहरूमा कडाइ जारी राखेकाले यो पछिल्लो कदमले अन्तर्राष्ट्रिय विद्यार्थी, विनिमय कामदार र विदेशी पत्रकारहरूका लागि नयाँ अड्चनहरू सिर्जना गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२५ को जनवरीमा सत्तामा फर्किएदेखि, प्रशासनले कानुनी आप्रवासनको छानबिनलाई व्यापक बनाएको छ । यसअघि वैचारिक दृष्टिकोणका कारण विश्वविद्यालयका विद्यार्थीहरूको विद्यार्थी भिसा र ग्रीन कार्ड खारेज गर्ने तथा लाखौं आप्रवासीहरूको कानुनी हैसियत खोस्ने जस्ता कामहरू भइसकेका छन् ।
यी नियमहरूले स्नातक विद्यार्थीहरूलाई कुनै पनि समयमा आफ्नो शैक्षिक उद्देश्य परिवर्तन गर्न वा अनुमति बिना अर्को विद्यालयमा सरुवा हुन पनि निषेध गरेका छन् । साथै, उनीहरूले आफ्नो डिग्री वा तालिम पूरा गरेपछि अमेरिका छोड्नका लागि विद्यार्थीहरूलाई दिइने सहुलियत अवधिलाई पनि ६० दिनबाट घटाएर ३० दिनमा झारेका छन् ।
यी परिवर्तनहरूले आप्रवासन विज्ञहरूबाट आलोचना खेपेका छन ्। पूर्व डीएचएस अधिकारी डग र्यान्डले भने, ‘अधिकांश अमेरिकीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्नु र अनावश्यक प्रशासनिक झमेला हटाउनुको महत्त्व बुझ्छन् । यस नियमले त्यसको ठ्याक्कै उल्टो गर्नेछ ।’
क्याटो इन्स्टिच्युटका आप्रवासन अध्ययन निर्देशक डेभिड जे. बियरले अध्ययन र विद्यालय सरुवामा लगाइएको नयाँ प्रतिबन्धको कुनै कानुनी आधार नभएको तर्क गरे । उनले देश छोड्ने छोटो अवधिको पनि आलोचना गर्दै धेरैजसो वर्षौंसम्म अमेरिकामा बिताउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब रोजगारदाताको प्रायोजन प्राप्त गर्न वा कानुनी हैसियत गुमाउने जोखिमबाट जोगिनका लागि मात्र ३० दिन पाउनेछन् ।
पत्रकारहरूमाथि प्रस्तावित प्रतिबन्धको चीनले पनि विरोध गरेको छ । अगस्टमा चीनको विदेश मन्त्रालयले चिनियाँ पत्रकारहरूका लागि प्रस्तावित नियमलाई विभेदकारी भन्दै आलोचना गरेको थियो ।
डीएचएसले यी भिसा कोटिहरू अन्तर्गत प्रवेशमा भएको तीव्र वृद्धिका कारण यो नियम ल्याइएको बताएको छ । विभागले सन् २०२४ मा १८ लाख भन्दा बढी विद्यार्थी भिसा प्रवेश भएको उल्लेख गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत भन्दा बढीको वृद्धि हो ।
यसले अक्टोबर १, २०२३ बाट सुरु भएको आर्थिक वर्ष २०२४ मा अमेरिकाले ५ लाख भन्दा बढी विनिमय आगन्तुक र ३७ हजार ३०० सञ्चारकर्मीलाई भिसा दिएको पनि बताएको छ ।
डीएचएसका अनुसार, यस्ता आगन्तुकहरूको संख्यामा भएको उल्लेखनीय वृद्धिले उनीहरू अमेरिकामा रहँदा प्रभावकारी रूपमा अनुगमन र निरीक्षण गर्न गाह्रो बनाएको छ । विभागले हालको ड्युरेसन अफ स्टेटस प्रणाली अन्तर्गत विद्यार्थी र विनिमय आगन्तुकहरू दशकौंसम्म देशमा बसिरहेका धेरै उदाहरणहरू पनि उद्धृत गरेको छ ।
नयाँ नियम अन्तर्गत, आफ्नो निश्चित प्रवेश अवधिभन्दा बढी समय अमेरिकामा रहन चाहने भिसा वाहकहरूले म्याद थपका लागि डीएचएसमा निवेदन दिनुपर्नेछ वा देश छोडेर पुनः प्रवेश गरी नयाँ प्रवेश अनुमति लिनुपर्नेछ ।





प्रतिक्रिया