
एजेन्सी । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले दुर्लभ खनिज र महत्त्वपूर्ण खनिजहरूबारेको आफ्नो प्रतिवेदनमा चेतावनी दिँदै चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन गरेमा चीन बाहिर हुने वार्षिक ६५ खर्ब डलर बराबरको उत्पादन जोखिममा पर्न सक्ने बताएको छ ।
यस कमजोरीलाई सम्बोधन गर्न प्रतिवेदनले ११ वटा उच्च जोखिमयुक्त सामग्रीहरूको बहुपक्षीय भण्डारण गर्न सुझाव दिएको छ । एजेन्सीका अनुसार, यसका लागि सुरुमा ९.२ अर्ब डलरको खरिद र वार्षिक ९०० करोड डलर खर्च हुनेछ । आपूर्ति अवरोधले निम्त्याउन सक्ने सम्भावित आर्थिक प्रभावको तुलनामा यो खर्च निकै कम भएको एजेन्सीको ठहर छ ।
चीन, प्रजातान्त्रिक गणतन्त्र कंगो र जिम्बाब्वे जस्ता देशहरूले लगाएको निर्यात प्रतिबन्धले आपूर्ति श्रृंखलाको एकाधिकारबाट हुने जोखिमलाई यथार्थमा परिणत गरिदिएको आईईएले जनाएको छ । आईईएका निर्देशक फातिह बिरोलले एक प्रेस विज्ञप्तिमा भनेका छन्, ‘अपेक्षाकृत सानो परिमाणमा उपलब्ध महत्त्वपूर्ण खनिजहरूमा विशाल आर्थिक मूल्य निर्भर छ जसको आपूर्ति श्रृंखला अत्यन्त केन्द्रित र संवेदनशील छ ।’
आपूर्तिको विविधीकरणमा बढी लागत लाग्न सक्छ तर यसलाई भूराजनीतिक अनिश्चितताको समयमा खनिज सुरक्षा प्रिमियम अर्थात् प्रमुख आपूर्ति जोखिम विरुद्धको एक प्रकारको आर्थिक बिमाका रूपमा हेरिनुपर्छ, उनले थपे ।
गत वर्ष अमेरिका र चीनबीचको व्यापार युद्धका क्रममा दुर्लभ धातुहरू मुख्य विवादको विषयका रूपमा उदाएका थिए । बेइजिङले लगाएको निर्यात प्रतिबन्धले स्याटेलाइटदेखि स्मार्टफोनसम्मका सामग्री उत्पादन गर्ने निर्माताहरूलाई चिन्तित बनाएको थियो । व्यवसायहरूको कुल उत्पादन लागतमा यी धातुहरूले सानो हिस्सा मात्र ओगटे पनि यसको मूल्यमा हुने अचानक वृद्धिले निर्माण र व्यापारिक गतिविधिमा ठूलो अवरोध पुर्याउने क्षमता राख्छ ।
प्रतिवेदनले आपूर्ति श्रृंखलाको विविधीकरणमा केही सुधार भइरहेको संकेत पनि गरेको छ । सरकारहरूले महत्त्वपूर्ण खनिजहरूको आपूर्ति बढाउन र विविधीकरण गर्न सक्रिय भूमिका खेल्न थालेका छन् ।
अमेरिका र मलेसियामा दुर्लभ धातु प्रशोधनमा भएको लगानीले विश्वव्यापी आपूर्तिमा चीनको हिस्सा ९० प्रतिशतबाट घटेर ८५ प्रतिशतमा झरेको छ । योजनाबद्ध आयोजनाहरू समयमै सम्पन्न भएमा सन् २०३५ सम्ममा यो हिस्सा ७० प्रतिशतमा झर्न सक्ने प्रतिवेदनले उल्लेख गरेको छ ।
तर, प्रशोधनका क्षेत्रमा खनिज आपूर्ति श्रृंखलाको भौगोलिक एकाधिकार अझै बढिरहेको छ । विशेषगरी निकल प्रशोधनमा इन्डोनेसिया र अन्य प्रमुख ऊर्जा खनिजहरूमा चीनको प्रभुत्व बढ्दो छ । त्यसले प्रशोधित आपूर्तिको कुल वृद्धिमा तीन–चौथाइ भन्दा बढी हिस्सा ओगटेका छन् ।





प्रतिक्रिया