ललितपुर महानगरद्वारा करमा विशेष सहुलियत घोषणा: ईभीदेखि लक्षित वर्गसम्मलाई छुट


काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा नवौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै करदातालाई प्रोत्साहन गर्न विभिन्न छुटका योजनाहरू सार्वजनिक गरे ।

महानगरले सार्वजनिक गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८३/०८४ मा बुझाउनुपर्ने सम्पत्ति कर, भूमि कर र मालपोत आगामी असोज मसान्तभित्र बुझाएमा करदातालाई १० प्रतिशत छुट दिइनेछ ।

यस्तै, महानगरमा दर्ता भई नवीकरण हुन बाँकी उद्योग तथा व्यवसायहरूको हकमा पुस मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३/७४ सम्मको व्यवसाय कर र बहाल करमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गरिने नीति लिइएको छ ।

मेयर महर्जनका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/०८३ सम्मको व्यवसाय करको जरिवानामा पनि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । तर तोकिएको समयभित्र बक्यौता रकम चुक्ता नगरेमा यी छुट सुविधाहरू उपलब्ध हुने छैनन् र नियमअनुसार जरिवानासहित कर असुल गरिने महानगरले स्पष्ट पारेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको असार मसान्तसम्म व्यवसाय नवीकरण गर्ने व्यवसायीहरूलाई २५ प्रतिशत छुट दिइने भएको छ । करदाताले चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण पेस गरेमा सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाउने व्यवस्था समेत गरिएको छ । सामाजिक समावेशीकरण र उद्यमी प्रवर्द्धनलाई ध्यानमा राख्दै महानगरले एकल महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरू र महिला समूहद्वारा सञ्चालित व्यवसायको दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

उनले भने, ‘चालु आर्थिक वर्ष २०८३/८४ मा बुझाउनुपर्ने सम्पत्ति कर, भूमि कर तथा मालपोत चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तभित्र बुझाएमा देय करमा १० प्रतिशत छुट दिइनेछ । ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग तथा व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष २०८३/८४ को पुस मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३/७४ सम्मको सम्पूर्ण व्यवसाय कर तथा बहाल करको जरिवाना छुट हुनेछ । आधार वर्ष आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०८२/८३ सम्मको व्यवसाय करमा लागेको जरिवानामा शतप्रतिशत छुट प्रदान गरिनेछ । तोकिएको समयभित्र बक्यौता रकम चुक्ता नगरेमा उल्लिखित छुट सुविधा उपलब्ध हुनेछैन । साथै, बक्यौता रकममा प्रचलित कानुनबमोजिम जरिवानासहित व्यवसाय कर तथा बहाल कर असुलउपर गरिनेछ । चालु आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय नवीकरण गर्दा सोही आर्थिक वर्षको असार मसान्तसम्म नवीकरण गर्ने व्यवसायलाई नवीकरण शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । चालु आर्थिक वर्ष २०८३/८४ को सम्पत्ति कर तिरेको प्रमाण पेस गरेमा सोही आर्थिक वर्षको सिफारिस दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ । एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरूको समूह तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय दर्ता गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइनेछ । ललितपुर महानगरपालिका क्षेत्रभित्र सम्पत्ति कर तिर्ने करदाताले सम्पत्ति कर बुझाउँदा सम्बन्धित करदाता वा निजको श्रीमान/श्रीमतीले विद्युतीय (इलेक्ट्रिक) सवारी साधन खरिद गरेको ब्लुबुक पेस गरेमा चालु आर्थिक वर्ष २०८३/८४ को सम्पत्ति करमा १ प्रतिशत छुट दिइनेछ ।’

वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न महानगरले विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताका लागि समेत विशेष योजना ल्याएको छ । सम्पत्ति कर बुझाउँदा सम्बन्धित व्यक्ति वा निजको पति/पत्नीको नाममा रहेको विद्युतीय गाडीको ब्लुबुक पेस गरेमा चालु आर्थिक वर्षको सम्पत्ति करमा थप १ प्रतिशत छुट उपलब्ध गराइने मेयर महर्जनले जानकारी दिए ।

महानगरले चालु आ.व. २०८२/०८३ मा कुल ६८.०० प्रतिशत खर्च भएको जनाएको छ । पुँजीगततर्फ ६०.४५ प्रतिशत, चालु खर्च ८३.२६ प्रतिशत, राजस्व संकलन ७५.३१ प्रतिशत, बेरुजु ०.४४ प्रतिशत (आ.व. २०८१/०८२ को लेखा परीक्षणबाट), वित्तीय जोखिम मूल्याङ्कन ९९.५ अङ्क, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९३.५ अङ्क र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कन ७६.३२ प्रतिशत रहेको महानगरले जनाएको छ ।