
काठमाडौं । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल भइरहेको नयाँ ट्राफिक जरिवाना सम्बन्धी सूचनाहरूलाई विश्वास नगर्न आग्रह गरेको छ ।
यातायात व्यवस्था विभागले एक सार्वजनिक सूचना जारी गर्दै ‘मोटर यातायात तथा ट्राफिक नियमावली, २०७४’ का नाममा फैलाइएको जरिवानाको दररेट सम्बन्धी जानकारी आधिकारिक नभएको स्पष्ट पारेको हो ।
विभागले हाल नेपालमा उक्त नाम गरेको कुनै पनि कानुनी व्यवस्था नरहेको जनाएको छ । भाइरल गराइएको पर्चामा विभागको लोगो समेत नक्कली प्रयोग गरिएको पाइएको सूचनामा जनाइएको छ । विभागले यस्ता आधारहीन र भ्रामक सामग्रीको पछि नलाग्न र यसलाई सेयर नगर्न आम नागरिकलाई अपिल गरेको छ ।
विभागले सरकारी लोगो र नामको दुरुपयोग गरी भ्रम फैलाउने कार्य दण्डनीय भएको भन्दै यस्ता गतिविधि गर्नेहरूलाई ‘विद्युतीय कारोबार ऐन, २०६३’ र ‘प्रतिलिपि अधिकार ऐन, २०५९’ बमोजिम कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।
पुरानै नियम अनुसार जरिवाना हुने
हाल ट्राफिक जरिवानाका लागि कुनै नयाँ नियमावली नबनेको विभागले प्रष्ट पारेको छ । विभागका अनुसार हाल प्रचलित ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ बमोजिम नै जरिवाना निर्धारण भइरहेको छ । नयाँ ऐन जारी नभएसम्म पुरानै कानुनी व्यवस्था अनुसार काम कारबाही हुने व्यहोरा विभागले जानकारी गराएको छ ।






प्रतिक्रिया