बालेनलाई घेराबन्दीमा पार्न खोजिएको भन्दै अव्यवस्थित पार्किङ योजनाबद्ध रूपमै गरिएको हो ?

3.7k
Shares

काठमाडौं । सोमबार बिहानैदेखि काठमाडौंका केही सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान र राजनीतिक दलका नेताको निवास अगाडि शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याइएको छ । सञ्चारमाध्यमलाई तर्साउने उद्देश्यले सुनियोजित रूपमा यस्तो कार्य गरिएक प्रारम्भिक विश्लेषण गरिएको छ ।

पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको कार्यलयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ । घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न पनि महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बिहान ७ बजे आसपास कान्तिपुर पब्लिकेशन्सको तीनकुनेस्थित कार्यालय, बानेश्वरमा रहेको अनलाइनखबर र पुरानो बानेश्वरस्थित हिमालयन टेलिभिजनको मुख्य प्रवेशद्वारमा अन्य सवारीसाधन प्रवेश गर्न नमिल्ने गरी गाडीहरू तेर्स्याइएको थियो ।

यस्तै, बिजुलीबजारस्थित भाटभटेनी सुपरमार्केट र रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगन थापाको निवासको गेटमै पैदलयात्रीलाई समेत असहज हुने गरी सवारी साधन पार्किङ गरिएको पाइएको थियो।

शंकास्पद रूपमा राखिएका यी सवारी साधनहरूलाई दिउँसो ट्राफिक प्रहरीले क्रेन लगाएर उठाएर लगेको छ ।

प्रहरी र यातायात व्यवस्था विभागको स्रोतका अनुसार ती गाडीहरूमध्ये केही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको रहेको पाइएको छ ।

कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि पार्क गरिएको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवालका कान्छा छोरा रवि जयसवालको रहेको पाइएको छ । जयसवाल केही समयअघि मात्रै रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य नियुक्त भएका थिए उनलाई रास्वपा महामन्त्री भुपदेव शाहले पत्र दिएको फोटो सार्वजनिक भएको छ ।

त्यस्तै, अनलाइन खबरको कार्यालय अगाडि राखिएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा र हिमालय टेलिभिजन अगाडिको बा १० च १२५५ नम्बरको गाडी पनि व्यक्तिकै नाममा रहेको भेटिएको छ । यी गाडीहरू कसले र किन त्यहाँ राखे भन्नेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

शंकास्पद गतिविधि

गत बिहीबार पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि सरकार र सञ्चारमाध्यमप्रति एक तप्काको आक्रोश बढिरहेको सन्दर्भमा यो घटना भएको देखिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन सबै शक्ति लागेको र पुराना दलहरूले यसलाई राजनीतिकरण गरेको बुझाइ रास्वपा र बालेन निकटका कार्यकर्ताहरूमा देखिएको छ ।

‘पछिल्लो समय आत्महत्यामा पनि सरकारलाई जोडेर अनावश्यक प्रचारवाजी र भ्रम छर्ने काम गरेका छन्,’ सत्तापक्षीय एक नेताले भने, ‘पुराना राजनीतिक दल र तिनीहरूका नेता कार्यकर्ता यसमा धेरै लागिपरेका छन् ।’

यसैबीच, गृहमन्त्री सुधन गुरुङले संसदबाटै त्रिपुरेश्वरमा काठमाडौं महानगर प्रहरीले ह्वील लक लगाएको कारण गणेश नेपालीको घटना घटेको आरोप लगाउँदै महानगरमा कसको नेतृत्व छ भन्दै प्रश्न गरेका थिए ।

बालेन पक्षका नेता कार्यकर्ताहरूले भने कार्यवाहक मेयर सुनिता डंगोलले बालेन नेतृत्वको सरकारलाई सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

‘त्रिपुरेश्वरको त्यो दुर्घटनामा महानगर प्रहरी पनि जिम्मेवार भएको भिडियोहरूमा पनि देखिएकै हो,’ उनले भने, ‘तर घटनापछि महानगर बालेनलाई असयोग गर्नेगरि अघि बढेको छ । सडकमा महानगर प्रहरी उपस्थित नभएपछि अस्तव्यस्त भएको होला नि!’

सुनियोजित अवरोधको प्रयास

सञ्चारमाध्यमले गणेश नेपालीको मृत्युको दोष बालेन सरकारलाई दिएको भन्दै उनी निकटहरू मिडियाप्रति क्रुद्ध देखिएका छन्।

सरकारले सुरक्षा दिन नसकेको भन्दै नगर प्रहरी बाहिर ननिस्किँदा न्युरोड लगायतका क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ व्यवसायका कारण अस्तव्यस्तता बढेको छ ।

निकट स्रोतका अनुसार, विभिन्न ग्रुपहरूमा कसले कहाँ सवारी साधन राखेर सडक अव्यवस्थित बनाउने भन्नेबारे पूर्वछलफल भएको थियो । न्युरोडमा गएर गलत ढंगले पार्किङ गर्ने भन्दै म्यासेज आदानप्रदान गरेको दाबी स्रोतको छ ।

‘सरकारमाथि घेराबन्दी बढेपछि सुभेक्षुकहरूले समूहमा छलफल गरे होलान् नि ! न्यूरोड जाने सबैले पार्किङ गरे त्यसमा हाम्रा पनि केही साथीहरू न्युरोड गएका बेला राखे कि ? ‘ उनले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङ निकट मधुसुदन ढकालले सोमबार भएको अव्यवस्थित पार्किङ सांकेतिक बिरोध हुन सक्ने बताए ।

‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुन सक्छ, र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरुलाई कति अप्ठ्यारो पर्छ थाहा दिएको पनि हुन सक्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

न्युरोडको वर्तमान अस्तव्यस्तता र सोमबार सञ्चारगृह अगाडि देखिएको दृश्य सुनियोजित रहेको संकेत मिलेको छ ।

प्रहरीले यी घटनाहरू सञ्चारमाध्यम र राजनीतिक नेतृत्वलाई मनोवैज्ञानिक रूपमा तर्साउने प्रयास भएको हुनसक्ने भन्दै संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।