सञ्चारमाध्यमको गेटमा पार्किङ गरिएका गाडी रास्वपा नेताकै ?

4.2k
Shares

काठमाडौं । सोमबार बिहानैदेखि सञ्चारगृहको कार्यालय, भाटभटेनी र नेपाली कांग्रेसका सभापतिको निवासअगाडि गाडी पार्किङ गरिएको पाइएको थियो ।

बिहान ७ बजे आसपास कान्तिपुरको तीनकुनेस्थित कार्यालय, बानेश्वरमा रहेको अनलाइनखबर र पुरानो बानेश्वरमा रहेको हिमालयन टेलिभिजनको मुख्य प्रवेशद्वारमा अन्य सवारीसाधन प्रवेश गर्न नमिल्ने गरी शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको पाइएको थियो ।

त्यस्तै बिजुलीबजारस्थित भाटभटेनीअगाडि र रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगन थापाको निवासको गेटमा हिँड्नसमेत असहज हुने गरी सवारी साधन पार्किङ गरिएको पाइएको थियो ।

शंकास्पद रूपमा राखिएका सवारीलाई ट्राफिक प्रहरीले दिउँसो क्रेन लगाएर उठाएर लगेको छ ।

ती गाडीमध्ये केही रास्वपा निकटका नेता-कार्यकर्ताको रहेको पाइएको जनाइएको छ ।

कान्तिपुर पब्लिकेशनको कार्यालयअगाडि रहेको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवालको कान्छा छोरा रवि जयसवालको रहेको दाबी स्रोतको छ । जयसवाल रास्वपाका केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग सदस्य रहेको जनाइएको छ ।

त्यस्तै, अनलाइनखबरको कार्यालयअगाडि रहेको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ।

यसैगरी हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएको बा १० च १२५५ नम्बरको गाडी पनि व्यक्तिको नाममा रहेको पाइएको छ।

गाडी र सवारी धनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।