६ वर्षसम्म सेल्फ ह्यान्डलिङ नपाउँदा साढे ३ अर्ब नोक्सान भएको हिमालय एयरलाइन्सको दाबी

अदालतको आदेश मान्न आग्रह


काठमाडौं। हिमालय एयरलाइन्सले निर्णय भएको ६ वर्षसम्म ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ सेवा सञ्चालन गर्न नपाउँदा साढे ३ अर्ब रुपैयाँ घाटा लागेको दाबी गरेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडानको सेवा दिइरहेको निजी क्षेत्रको यो वायुसेवा कम्पनीले उड्डयन कानुनअनुसार पाएको सुविधा उपयोग गर्न नपाएको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष तत्काल कार्यान्वयनमा जाने वातावरण बनाइदिन आग्रह गरेको छ ।

हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न नदिएको भन्दै उड्डयन प्राधिकरणलाई यही असार २५ गते ७ दिने चेतावनी (अल्टिमेटम) सहितको पत्र पठाएको छ ।

यो वायुसेवाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा आफैँ गर्न पाउने अनुमति नियामक निकायबाटै पाएको भए पनि प्राधिकरणकै कर्मचारीहरूले असहयोग गरेको आरोप लगाएको छ । उसले प्राधिकरणलाई लेखेको उक्त पत्रको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समेत दिएको छ ।

हिमालय एयरलाइन्सले गत मार्च १ देखि नै गर्न खोजेको सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल प्रवेश पास नदिएको पनि गुनासो गरेको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले लेखेको उक्त पत्रअनुसार ६ वर्षअघि नै भएको निर्णय कार्यान्वयन हुन नसक्दा आफूहरूलाई हालसम्म ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी नोक्सान भइसकेकोले त्यसको क्षतिपूर्ति पाउनुपर्ने र अन्यथा कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

हिमालय एयरलाइन्सले नियामक निकाय र सरकारले आफूमाथि चरम विभेद गरेको आरोपसमेत लगाएको छ। वैदेशिक लगानीमा सञ्चालित यो वायुसेवाले पछिल्लो १० वर्षदेखि नेपालमा हवाई सेवा दिइरहेको छ ।

यसले सरकारले तोकेको र नियामकले राखेका सबै हवाई उड्डयनका मापदण्ड पूरा गर्दा पनि ग्राउन्ड ह्यान्डलिङको अधिकारबाट वञ्चित गराउनुलाई अन्याय भएको दाबी गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठका अनुसार आफूहरूलाई पछिल्लो ६ वर्षदेखि अन्याय भइरहेकाले एक साताभित्र ग्राउन्ड ह्यान्डलिङको सुविधा उपयोग गर्न नपाए कानुनी उपचारमा जान बाध्य हुने बताए ।

‘हामीले तोकिएको नियम र कानुन पालना गरी सबै प्रक्रिया पूरा गरेर लाइसेन्स प्राप्त गरेका छौँ। सम्बन्धित निकायबाट सहयोग नपाउँदा त्यसको कार्यान्वयन भने हुन सकेको छैन,’ उनले क्लिकमान्डुसँग भने, ‘हिमालय एयरलाइन्सले विगत ६ वर्षदेखि सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति पाए तापनि हालसम्म काम सुरु गर्न पाएको छैन। सन् २०२० मै लाइसेन्स प्राप्त गरे पनि विभिन्न प्रशासनिक अवरोध र कार्यविधिको बहानामा कम्पनीले काम सुरु गर्न नपाएको हो।’

कम्पनीले सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि करिब ५० करोड बराबरको उपकरणमा लगानी गरिसकेको श्रेष्ठको भनाइ छ।’

हालसम्म पनि सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि पुनः कानुनी उपचार खोज्ने वा क्षतिपूर्तिको दाबी गर्ने विषयमा छलफल भइरहेको उनले भने । ‘हिमालय एयरलाइन्सले कमर्सियल ग्राउन्ड ह्यान्डलिङको माग गरेको होइन। आफ्नो उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ सेवा आफैँ गर्छौं भनेका हौं,’ उनले भने ।

हिमालय एयरलाइन्सले वायुयानहरूको ‘ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२’ अनुसार अनुमति पाएको उल्लेख छ । उक्त निर्देशिका अनुसार सातामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ ।

यद्यपि, नेपाल वायुसेवा निगमको अवरोध र असहमतिका कारण हिमालयले यो सुविधा उपयोग गर्न पाएको छैन । त्यसो त हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न दिन सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा यसअघि नै परमादेश दिएको थियो। अदालतको आदेश कार्यान्वयन नभएको विषयमा पनि हिमालय एयरलाइन्सले प्रश्न उठाएको छ ।

हिमालय एयरलाइन्सले आगामी साउन १ देखि नयाँ आर्थिक वर्ष लाग्ने र सो समयदेखि यो सुविधा कार्यान्वयन गर्न दिन पनि आग्रह गरेको छ। यसका लागि ७ दिनभित्रै हिमालयन एयरलाइन्सका कर्मचारीहरूलाई आवश्यक सङ्ख्यामा विमानस्थल प्रवेश पास उपलब्ध गराइदिन पनि उसले माग गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भनने हिमालय एयरलाइन्सले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि समेत ग्राउन्ड ह्यान्डलिङ सेवा नवीकरण गरिदिन निवेदन दिइसकेको जानकारी दिएको छ। यसले सातामा ३५ वटाभन्दा बढी उडान गर्ने वायुसेवाले पाउने सुविधाअन्तर्गत सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएको भएपनि उपयोग भने गरेको छैन।

हिमालयनल यसअघि सबै तयारी गरेर पनि विरोधीहरूले के भन्लान् भनेर चुप लागेर बस्यो। अदालतको आदेश ल्याएपछि पनि आँट गरेर आफ्नो काम गर्न नसकेको देखिएको छ ।

हिमालयका लागि कानुनी जटिलताभन्दा पनि व्यवहारिक समस्याले आफूले पाएको अनुमति कार्यान्वयन गर्न नसकेको देखिएको छ। नियामक निकायबाट उसले पाएको अनुमति कार्यान्वयनको विषयमा कुनै समस्या नभएको पनि प्राधिकरणको भनाइ छ ।

६० करोड बक्यौता नतिरेसम्म अनुमति दिन सकिँदैन: त्रिभुवन विमानस्थल

हिमालय एयरलाइन्सले जहाजको उडान–अवतरण, पार्किङ, प्यासेन्जर सर्भिस चार्ज, एयर नेभिगेसनसहितको ६० करोड रुपैयाँ बक्यौता राखेको छ। पटक–पटक यो वायुसेवालाई बक्यौता तिर्न गरिएको पत्राचारलाई वास्ता नगरी बसेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले हिमालय एयरलाइन्सले राखेको बक्यौता नतिरेसम्म र आधिकारिक रूपमा नियामक निकायबाट सञ्चालन गर्न दिने पत्र नआएसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न दिन नसकिने बताए।

सिटौलाले भने, ‘हामी केवल एयरपोर्ट अपरेटर हौँ, नियामक होइनौँ। हिमालयलाई सेल्फ ह्यान्डलिङको सेवा सञ्चालन गर्न दिने हो भने नागरिक उड्डयन प्राधिकरण (हेड अफिस) बाट औपचारिक पत्र आउनुपर्छ । बक्यौता चुक्ता नगरेसम्म र माथिको आदेश नआएसम्म हामीले प्रवेश पास उपलब्ध गराउन सक्ने अवस्था रहँदैन ।’