
काठमाडौं । यूएईका विभिन्न कलेजहरूमा उच्च शिक्षाका लागि पठाइदिने बहानामा नेपाली विद्यार्थीहरूलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालकहरू पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा डिल्लीबजारस्थित एडुपोट प्रालिका तीन जना सञ्चालकहरू रहेका छन् । जसमा काठमाडौं माकलवारीका ४० वर्षीय रुपक कोइराला, कास्की पोखराका ३७ वर्षीय राजेश भण्डारी र बारा सिमराका ३७ वर्षीय सन्तोष खतिवडा छन्।
त्यसैगरी, पुतलीसडकस्थित वेष्टफोर्ड एजुकेशन प्रालिकी सञ्चालक काठमाडौं चावहिल निवासी चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ) पनि पक्राउ परेकी छिन् ।
बानेश्वरमा रहेको प्रोप एभिएसन प्रालिसँग आवद्ध चार जना सञ्चालकहरू पनि प्रहरी नियन्त्रणमा परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरका ३८ वर्षीय सुरेन्द्र महर्जन, सर्लाहीका ३५ वर्षीय दिवस पोखरेल, सिराहाका २६ वर्षीय मनित आचार्य र धनकुटाका ३९ वर्षीय शेखर पाण्डे रहेका छन् ।
यस्तै, कालिमाटीस्थित एस्पायर ग्लोवल प्रालिका सञ्चालक सुनसरी इटहरीका २७ वर्षीय बिशाल चापागाईलाई पनि ब्यूरोले पक्राउ गरेको छ ।
यसरी हुन्थ्यो ठगी
पक्राउ परेका सञ्चालकहरूले यूएईको आधिकारिक निकाय ‘उच्च शिक्षा मन्त्रालय’ वा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’ बाट सम्बन्धन र स्वीकृति नलिएका कलेजहरूमा विद्यार्थी पठाउने गरेका थिए ।
ती कलेजहरूमा अध्ययन गरेपछि फ्रान्स तथा अष्ट्रेलिया लगायतका देशका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर हुने भनी झुक्काएर उनीहरूले विद्यार्थीबाट मोटो रकम असुल गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार, मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी सम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया