प्रेमप्रसादले आत्मदाह गर्दा स्ट्याटस लेखेका बालेनले गणेश नेपालीले उस्तै कदम चाल्दा के गरे ?


काठमाडौं । २०७९ साल माघ १० गते इलामका ३७ वर्षीय युवा उद्यमी प्रेमप्रसाद आचार्य (सन्तोष) ले काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको भोलिपल्ट (माघ ११ गते) कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

माघ १० गते दिउँसो संसद् भवन अगाडि तत्कालीन प्रधानमन्त्रीको गाडीको लस्कर (कारकेड) निस्कनै लाग्दा प्रेमप्रसाद आचार्यले सडकको बीचमा पुगेर आफूमाथि पेट्रोल खन्याई आगो लगाएका थिए । प्रहरी र प्रत्यक्षदर्शीले तत्काल आगो निभाएर उनलाई अस्पताल पुर्‍याएका भए पनि उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलिसकेकाले उनलाई बचाउन सकिएन ।

आत्मदाह गर्नुभन्दा केही समयअघि उनले सामाजिक सञ्जाल (फेसबुक) मा एक लामो ‘मृत्यु पत्र’ (स्टाटस) पोस्ट गरेका थिए । त्यसमा उनले नेपालमा उद्यम गर्दा भोग्नुपरेका अनेकौँ समस्या, ठूला व्यापारिक घरानाको ज्यादति, र राज्यको नीतिका कारण आफू चरम निराशामा पुगेको विस्तृत विवरण लेखेका थिए ।

आचार्यको मृत्युपछि देशभरका युवा तथा सर्वसाधारणमा ठूलो आक्रोश उत्पन्न भयो । राज्यको नीतिका कारण नागरिकले ज्यान गुमाउनुपरेको भन्दै काठमाडौंलगायत विभिन्न स्थानमा प्रदर्शनहरू भए । त्यतिबेलाका गृहमन्त्री रवि लामिछाने अस्पताल पुगेर परिवारसँग भेटेका थिए भने छानबिन समिति गठन गरिएको थियो । त्यस्तै काठमाडौं महानगरका तत्कालीन प्रमुख वालेन्द्र शाह (बालेन) ले यसलाई ‘राज्यको चरम असफलता र नागरिकको विद्रोह’ भन्दै कडा स्टाटस लेखेका थिए ।

त्यतिबेला बालेनले यस्तो स्टाटस लेखेका थिए
एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।
नागरिकका रुपमा, जनप्रतिनिधीका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा हामी सबै असफल भइरहेका छौं। नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमका रुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

समय बदलियो । बालेन अहिले नेपालका प्रधानमन्त्री बनेका छन् । बानेश्वर घटनाको साढे ३ वर्ष नबित्दै त्रिपुरेश्वरमा उस्तै घटना दोहोरियो । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडक किनारमा पार्किङ गरिएको उनको मोटरसाइकलमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाएपछि उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा उनले मुगुका गणेश नेपालीले आत्मघाती कदम चाले ।

असार २५ गते मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले राहदानी विभागको गेट नम्बर ३ अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । नेपालीको उपचारका क्रममा निधन हुँदा राज्यका विभिन्न निकायहरूले राहत र प्रणालीगत सुधारका लागि तदारुकता देखाए ।

यतिबेला धेरैले प्रधानमन्त्री बालेनबाट ३ वर्ष अघिको जस्तै स्ट्याटस खोजे । तर, बालेनले स्ट्याटस लेखेनन् । घटना लगत्तै उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनको शरीरको ५५ प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको जानकारी दिँदै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गर्‍यो ।

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीलाई उपचारका लागि तत्काल वीर अस्पताल पुर्‍याइएको थियो । त्यसपछि राज्यको तदारूकतापछि उनको सघन कक्षमा विशेषज्ञ डाक्टरहरूल निगरानी गरेका थिए ।

नेपालीको स्थिति बुझ्न गृहमन्त्री सुधन गुरूङ अस्पतालमा खटिए । थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी गरिएको थियो ।

तत्काल नेपालस्थित भारतीय राजदूतावासमार्फत् समन्वय मिलाउने काममा परराष्ट्र मन्त्रालय खटियो । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुनसुकै बेलामा जहाज उडाउन मिल्ने गरी संयन्त्र परिचालन गरियो ।

तर, मध्यरातमा चिकित्सकहरूले नेपालीलाई बचाउन नसकिने बताएपछि भारत लैजाने योजना रद्द गरियो ।

यद्यपि, चिकित्सकहरूको अथक प्रयासका बाबजुद उपचारकै क्रममा असार २६ गते बिहान ११ बजेर १९ मिनेटमा नेपालीको निधन भयो ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा गृह मन्त्रालयले यस घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। समितिले ट्राफिक प्रहरीसँगको विवादको प्रकृति, राहदानी विभागमा सेवाग्राहीले भोग्नुपर्ने सास्ती र आम नागरिकमा बढ्दै गएको चरम निराशाका कारणबारे अध्ययन गर्नेछ । मन्त्रालयले यस घटनाले नेपालको आपत्कालीन उद्धार प्रणाली र प्राथमिक उद्धारकर्ताको क्षमतामा रहेका कमजोरीहरूलाई पनि उजागर गरेको स्वीकार गर्दै आगामी दिनमा ‘इमर्जेन्सी रेस्पोन्स’ प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यता काठमाडौं महानगरपालिकाले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलको नेतृत्वमा बसेको अनौपचारिक छलफलपछि महानगरले पीडित परिवारका लागि राहतका योजना अघि सारेको छ । महानगरले दिवंगत नेपालीको परिवारलाई तत्कालका लागि मानवीय आर्थिक सहयोग उपलब्ध गराइने र परिवारको एक सदस्यलाई महानगरपालिका अन्तर्गत रोजगारीको व्यवस्था मिलाइने भएको छ ।

यसैगरी नेपालीका छोराछोरीको भविष्य सुनिश्चित गर्न महानगरपालिकाले कक्षा १२ सम्मको पूर्णतः निःशुल्क शिक्षाको जिम्मेवारी लिने निर्णय गरेको छ । यस सम्बन्धमा आगामी कार्यपालिका बैठकले विधिसम्मत निर्णय गर्नेछ ।

महानगरले गृह मन्त्रालयको छानबिन समितिलाई पूर्ण सहयोग गर्ने र प्रतिवेदनका आधारमा महानगरको सेवा प्रवाहमा समेत आवश्यक सुधारात्मक कदम चाल्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा र न्याय सुनिश्चित गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ । सरकारले यस्ता घटना दोहोरिन नदिन राज्यले नागरिकका सानाभन्दा साना गुनासा सुन्ने र तत्काल समाधान गर्ने संयन्त्र विकास गर्ने घोषणा गरेको छ ।