
काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिकसमेत रहेका मन्त्री पुनले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने भनी उनले दिएको हालैको अभिव्यक्ति विवादमा परेपछि उनले यस्तो कठोर निर्णय लिएका हुन्।
आफ्नो फेसबुक पेजमार्फत एक सार्वजनिक नोट जारी गर्दै पुनले अति आवश्यक सार्वजनिक महत्त्वका विषयबाहेक अन्य कुनै पनि सन्दर्भमा साना-ठूला युट्युबर वा पत्रकारलाई ‘एक शब्द पनि’ अन्तर्वार्ता नदिने स्पष्ट पारेका छन्।
केही दिनअघि एक अन्तर्वार्ताका क्रममा ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई ५० हजार जरिवाना तिराउनुपर्ने बताएपछि पुनको चर्को आलोचना भएको थियो।
सोही विषयमा स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको हो र ५० हजारको अंक पत्रकारहरूले नै निकालेका हुन्। उनीहरूले नजान्ने विषयमा पनि कोट्याई-कोट्याई सोधेपछि मैले उक्त कुरा बोलेको हुँ।’
उनले आफ्नो अभिव्यक्तिका कारण कसैलाई चोट पुगेको भए माफी माग्दै उक्त शब्द फिर्ता लिएका छन्।
‘मेरो कुराले अज्ञानवश कसैलाई चोट पुगेको छ भने माफी चाहन्छु। तर, ट्राफिक नियम अटेर गर्नेहरूले एकपटक मुटुमा हात राखेर सोच्नुहोला,’ उनले थप लेखेका छन्।
अन्तर्वार्ता नदिने घोषणा गरे पनि पुनले नियम मिच्नेहरूलाई दण्ड दिनुपर्ने आफ्नो अडान भने कायमै राखेका छन्।
उनले आक्रोश व्यक्त गर्दै प्रश्न गरेका छन्, ‘अपराध गर्ने र नियम मिच्नेहरूलाई आवश्यक दण्ड सजाय नगर्ने हो भने देश र समाजको अवस्था कस्तो होला ? आफैँ कल्पना गर्नुहोस्।’
विवादास्पद छविको मारमा पर्नुभन्दा एक वर्षसम्म मौन बस्नु नै उचित ठानेर उनले यो ‘कडा घोषणा’ गरेको बुझिएको छ। यसअघि पुन सामाजिक सञ्जाल र मिडियामा निकै सक्रिय रहँदै आएका थिए।







प्रतिक्रिया