
काठमाडौं । नेपालको रेलवेक्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) ले रुचि देखाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र युएईका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जियोडीबिच शुक्रबार भएको भेटमा यस्तो युएईका मन्त्रीले यस्तो उल्लेख गरेका छन् ।
सो क्रममा युएईका मन्त्री डा थानीले नेपालको रेलवेक्षेत्रमा निजी क्षेत्रमार्फत लगानी गर्ने इच्छा व्यक्त गर्दै त्यसका लागि आवश्यक कानुनी तथा व्यावहारिक वातावरण निर्माण गरिनुपर्ने धारणा राखेका हुन् ।
भेटमा उद्योगमन्त्री गौरीकुमारी यादवले नेपाल–युएई व्यापार मञ्चलाई थप विस्तार र सुदृढ बनाउन प्रस्ताव राखेका हुन् ।
युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा यस विषयमा थप ठोस छलफल अघि बढाउने प्रतिबद्धता जनाएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालनका लागि देखाएको पहलप्रति युएई सरकारलाई धन्यवाद दिएकी छन् ।
भेटमा युएईका मन्त्री डा थानीले नेपालको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै युएई नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्दै सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिदिन उद्योग मन्त्री यादवसमक्ष आग्रह गरेका थिए ।
युएईले विशेष गरी नेपालको कृषिक्षेत्रमा लगानी गर्न उच्च चासो देखाएको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिमण्डलले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा पनि उल्लेखनीय सम्भावना रहेको औँल्याउँदै नेपालमा हरित डेटा सेन्टर स्थापना गर्ने योजना रहेकाले त्यसका लागि आवश्यक लगानी गर्न युएई सरकार तयार रहेको मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीलगायत कृषि उपजको युएईमा निर्यात विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।
निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर परीक्षण, मापदण्ड निर्धारण तथा प्रमाणीकरणका क्षेत्रमा आवश्यक लगानी र प्राविधिक सहयोग उपलब्ध गराउन युएई पक्ष सकारात्मक रहेको जनाइएको छ ।






प्रतिक्रिया