
एजेन्सी । बाहिरबाट हेर्दा उनी एक आदर्श पाहुना जस्तै देखिन्थे । भारतको तामिलनाडुका ६९ वर्षीय सेतो कपाल भएका, अंग्रेजी बोल्ने भद्र र सुसंस्कृत व्यक्ति छत्तीसगढको रायपुरस्थित एउटा विलासी होटलमा निकै राम्रोसँग घुलमिल भएका थिए ।
त्यसैले उनी जुन २७ को दिउँसो दुईवटा डफल ब्याग बोकेर त्यो साततले विशाल होटलबाट बाहिर निस्किँदा कसैले पनि उनलाई शंका गरेनन् । तर, उनले बिल नै तिरेका छैनन् भन्ने कुरा होटल व्यवस्थापनले थाहा पाएपछि शंका सुरु भयो ।
उनीहरू मात्र यसको सिकार भएका होइनन् । गत साता रायपुर प्रहरीले तामिलनाडुको थुथुकुडी जिल्लाका भिन्सेन्ट जोनलाई पक्राउ ग¥यो । उनले विगत ३० वर्षदेखि ठ्याक्कै यही शैलीमा सयौं होटलहरूलाई ठगेको दाबी प्रहरीले गरेको छ ।
लग्जरी होटलमा चेक–इन गर्ने, केही दिन त्यहाँको विलासिताको आनन्द लिने र पैसा नतिरी सुटुक्क बाहिरिने । प्रहरी रेकर्डले देखाउँछ– उनीविरुद्ध पश्चिम बंगाल, महाराष्ट्र, कर्नाटक, गोवा, झारखण्ड, तेलंगाना, तामिलनाडु, केरला, दिल्ली र छत्तीसगढमा मुद्दाहरू छन् र उनी पटक–पटक पक्राउ पनि परिसकेका छन् । सन् २०१६ मा दिल्ली प्रहरी र सन् २०२० मा नवी मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कहिलेकाहीँ उनी होटलबाट बहुमूल्य सामानहरू पनि चोरेर निस्कन्थे । जस्तै, रायपुरको होटल छोड्नुअघि उनले आफ्नो झोलामा हालेको १.४८ लाख भारु पर्ने ल्यापटप । ‘जोन यस काममा यति अभ्यस्त भइसकेका थिए कि उनी ३०० भन्दा बढी लग्जरी होटलबाट बहुमूल्य सामान चोरेको धाक लगाउँछन्,’ रायपुरका एक प्रहरी अधिकारीले भने, ‘आफूले तिहार जेलमा समय बिताएको उनले हामीलाई बताए र त्यहाँ चार्ल्स शोभराजका कथाहरू सुनेका थिए । उनलाई शोभराजको चलाखी मन पर्थ्यो ।’
तामिलनाडुको थुथुकुडी जिल्लामा जन्मेका जोनले अंग्रेजी माध्यमको स्कूलमा पढेका थिए र उनले कहिल्यै विवाह गरेनन् । अनुसन्धानकर्मीहरूका अनुसार, आफूले सन् १९८० को दशकमा दिल्लीमा टुरिस्ट गाइडको रूपमा काम गर्न थालेको जोनले उनीहरूलाई बताए । त्यसले गर्दा उनले सुविधाको रूपमा होटलमा निःशुल्क बस्न पाउँथे ।
‘उनले हामीलाई बताए, एकपटक केही कुरामा गल्ती भयो र लग्जरी होटलको व्यवस्थापनले उनलाई अपमान गर्यो ।
त्यसबेलादेखि उनले मनमा रिस पाले र यस्ता उच्चस्तरका ठाउँहरूलाई निशाना बनाउन थाले,’ यस केसका अनुसन्धान अधिकृत सब–इन्स्पेक्टर पीयूष बघेलले दी इन्डियन एक्सप्रेसलाई बताए ।
उनलाई पहिलोपटक सन् १९९६ मा दिल्ली प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार, उनी अंग्रेजी शिक्षक, टुर गाइड वा योग प्रशिक्षकको रूपमा होटलमा चेक–इन गर्थे । उनी दुईवटा झोला लिएर आउँथे । एउटामा उनका सामान हुन्थे भने अर्कोमा पत्रपत्रिका वा सिरानी कोचिएको हुन्थ्यो ।
‘उनी होटलका कर्मचारीलाई आफ्नो सामान बोक्न दिँदैनथे,’ अधिकारीले भने, ‘शंकाबाट बच्नका लागि उनी प्रायः पत्रपत्रिका भएको एउटा झोला होटलमै छोडिदिन्थे ताकि मानिसहरूलाई उनी निस्किएका हुन् भन्ने नलागोस् । उनी सधैं महँगो रक्सी, चुरोट वा ल्यापटप जस्ता बहुमूल्य सामानहरू चोरेर लैजान्थे र पछि ती सामानहरू बेच्थे ।’
सुरुमा उनले चेक–इन गर्न आफ्नो आधार कार्ड प्रयोग गरे पनि आन्ध्र प्रदेश प्रहरीले उक्त कागजात जफत गरेपछि उनले फोटोकपीहरू प्रयोग गर्न थाले ।
अनुसन्धानकर्ताहरूका अनुसार, जोन जुन २५ मा इभेन्ट अर्गनाइजरको रूपमा रायपुरको फाइभ स्टार होटलमा बसेका थिए । ‘उनी धाराप्रवाह अंग्रेजी बोल्छन् । उनले होटलका एक कर्मचारीलाई मीठो कुरा गरेर एउटा ल्यापटप पनि लिन राजी गराए ।
उनले कर्मचारीलाई होटल उद्योगमा आफ्नो राम्रो सम्पर्क रहेको र उनलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएका थिए,’ एक अधिकारीले भने ।
होटलमा उनले केही विदेशी चुरोट र महँगो रक्सीको अर्डर गरे यद्यपि उनी न रक्सी खान्थे, न त चुरोट नै पिउँथे ।
‘दुई दिन बसेपछि जोन रिसेप्सनमा गए र अर्को दिन बिहान आउने आफ्नो छोराका लागि अर्को कोठा बुक गर्न चाहेको बताए । दुवै दिन जोन केही कामका लागि होटलबाट बाहिर निस्किएर फेरि फर्किए । त्यसले गर्दा कसैलाई शंका लागेन,’ अधिकारीले भने ।
उनीविरुद्धका मुद्दाहरूमध्ये सन् २०१६ मा नयाँ दिल्लीको ओखलास्थित होटल क्राउन प्लाजामा गरिएको ठगी पनि एक थियो ।
तर, जुन २७ को बिहान जोन सुटुक्क होटलबाट बाहिरिए । लबीको सीसीटीभी फुटेजमा उनी दुईवटा झोला बोकेर बाहिर निस्किएको देखिन्छ, एउटा हातमा र अर्को काँधमा । उनको बिल ६३ हजार ७ सय ५५ भारु भएको थियो ।
अनुसन्धानकर्मीहरूका अनुसार, जोनले भाग्नुअघि चुरोट र रक्सीको बोतल बेचेका थिए । उनको मोबाइल नम्बर बन्द पाएपछि होटल अधिकारीहरूले स्थानीय प्रहरीलाई सम्पर्क गरे । उनी पहिले रेलबाट बिलासपुर र त्यसपछि भुवनेश्वर गएको त्यसले पत्ता लगायो । त्यहाँ उनलाई जुलाई २ मा पक्राउ गरियो ।
‘महामारीको समयमा रायपुरको अर्को फोर स्टार होटलमा बसेको उनले हामीलाई बताए । हामीले त्यो होटललाई सम्पर्क गर्याैं तर उनीहरूसँग कुनै रेकर्ड छैन,’ अधिकारीले भने । उनले थपे, ‘लग्जरी होटलहरू आफ्नो प्रतिष्ठामा आँच आउने डरले सानो रकमका लागि प्रहरीमा उजुरी दिन हिचकिचाउँछन् ।’
जोनले आफ्नो उमेरको फाइदा उठाइरहेको एक अनुसन्धानकर्मीले बताए । प्रहरीले उनलाई अन्य अपराधीहरूलाई जस्तो व्यवहार नगरेको दाबी गरेको छ ।
‘हामीले उनलाई सोधपुछ गर्दा उनी पश्चात्ताप गरिरहेको जस्तो देखिन्थे र यो उनको अन्तिमपटक भएको वाचा गरेका थिए ।
उनले आफ्नो १० एकड पैतृक जग्गा रहेको र गोवाको वृद्धाश्रममा बस्ने योजना रहेको बताए,’ शहरका प्रहरी उपरीक्षक रमाकान्त साहुले भने । यो कथा उनले यसअघि अन्य प्रहरी विभागहरूलाई पनि सुनाइसकेका थिए । अधिकारीले दाबी गरे, ‘म उनलाई विश्वास गर्दिनँ ।’






प्रतिक्रिया