
काठमाडौं । यसै साता काठमाडौंमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाइएको र त्यसमा पूर्व राजदूतहरूले चिन्ता व्यक्त गरेको विषयमा परराष्ट्र मन्त्रालयले सरकार एक चीन नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले भने, ‘नेपालको भूमि कुनै पनि छिमेकी वा मित्रराष्ट्रको विरुद्ध प्रयोग हुन नदिने हाम्रो स्थापित र दृढ नीति छ । यसमा कुनै परिवर्तन आएको छैन र आउने छैन ।’
क्षेत्रीले ब्रिफिङमा सरकारको १०० दिनको प्रगति, राहदानी विभागको नयाँ डिजिटल फड्को, विदेशी उच्चाधिकारीहरूको भ्रमण र विदेशमा रहेका नेपालीहरूको सुरक्षा लगायतका १० वटा मुख्य विषयहरूमा जानकारी दिएका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार, नेपाली नागरिकहरूका लागि राहदानी सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउन मन्त्रालयले ऐतिहासिक कदम चालेको छ । राहदानी प्रणालीमा पूर्ण परिवर्तन गरी आगामी २९ गतेदेखि नयाँ प्रणाली लाइभ हुने तय भएको छ ।
‘नयाँ प्रणाली सुरु भएपछि केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि त्यसपछि राहदानी सेवा अत्यन्तै प्रभावकारी र सुचारु हुनेछ,’ प्रवक्ता क्षेत्रीले भने ।
यसका साथै मन्त्रालयले राहदानी वितरण प्रक्रियालाई विकेन्द्रीकरण गर्न हुलाक विभागसँग सम्झौता गरिसकेको छ । अब छापिएका राहदानीहरू हुलाकमार्फत सिधै जिल्ला र इलाका प्रशासन कार्यालयमा छिटो पुग्ने उनले बताए ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, नागरिकले अब जो जहाँ भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गरिएको छ । यसका लागि राहदानी ऐन २०७६ को पहिलो संशोधन विधेयकसमेत तयार पारिएको उनले जानकारी दिए ।
पछिल्लो समय नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्धनका लागि दुईवटा महत्त्वपूर्ण भ्रमण भएको पनि प्रवक्ता क्षेत्रीले बताए । संयुक्त अरब अमिरात (यूएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी अहमद अल जयाउदी १८ सदस्यीय टोली लिएर तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका छन् ।
भ्रमणका क्रममा यूएईले नेपालको एआई, डिजिटल रूपान्तरण र नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो सोभरेन वेल्थ फन्ड मार्फत लगानी गर्न इच्छा देखाएको छ । दुई देशबीच बृहत् आर्थिक साझेदारी सम्झौताका विषयमा पनि गहन छलफल भइरहेको जानकारी क्षेत्रीले दिए ।
त्यसैगरी, चीनका वाणिज्य उपमन्त्री यान डोङको नेतृत्वमा आएको टोलीले नेपाल–चीन आर्थिक तथा व्यापार संयुक्त समितिको १२औं बैठकमा भाग लिएको छ । बैठकमा दुई देशबीचको कनेक्टिभिटी, पूर्वाधार विकास र व्यापारिक अवरोध हटाउने विषयमा फलदायी सहमति भएको प्रवक्ता क्षेत्रीले बताए ।
सरकारले आर्थिक कूटनीतिलाई आफ्नो परराष्ट्र नीतिको मेरुदण्ड बनाउँदै कन्ट्री स्पेसिफिक स्ट्राटेजी (देशगत विशेष रणनीति) तयार पारेको प्रवक्ता क्षेत्रीले जानकारी दिए । अघिल्लो वर्ष १० वटा प्रमुख देशका लागि रणनीति बनाइएकोमा यस वर्ष बंगलादेश, पाकिस्तान, कतार, साउदी अरब, थाइल्यान्ड, मलेसिया, फ्रान्स, रुस, क्यानडा र टर्की गरी थप १० देशका लागि नयाँ कार्ययोजना तयार पारिएको छ ।
अब कुल २० देशसँगको व्यापार र लगानी सम्बन्धलाई यी विशेष रणनीतिअनुसार अगाडि बढाइनेछ । सबै नेपाली नियोगहरूमा यसका लागि फोकल पोइन्ट तोक्ने कार्य पनि सुरु गरेको प्रवक्ता क्षेत्रीले बताए ।
दक्षिणपूर्वी एसियाली देशहरूमा आकर्षक तलबको प्रलोभनमा परेर अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका नेपालीहरूको उद्धारमा मन्त्रालयले ठूलो सफलता हात पारेको प्रवक्ता क्षेत्रीको भनाइ छ । हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट कुल ८३६ जना नेपालीको उद्धार गरिएको उनले बताए ।
प्रवक्ता क्षेत्रीले भने, ‘हाम्रो बैंककस्थित राजदूतावासको विशेष पहलमा कम्बोडिया सरकारले भिसा अवधि सकिएका नेपालीहरूको जरिवाना र शुल्कसमेत मिनाहा गरिदिएको छ । जरिवाना मिनाहा पाउनेमा ६०२ जना नेपाली रहेका छन् ।’
मन्त्रालयले अझै पनि त्यहाँ रहेका र फर्कन डराइरहेका नेपालीका आफन्तहरूलाई समन्वय गरेर उनीहरूलाई स्वदेश फर्काउन आग्रह गरेको छ ।
अमेरिका र इरानबीचको बढ्दो तनाव र पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको प्रवक्ता क्षेत्रीले बताए । वार्ता र कूटनीति नै समस्या समाधानको एक मात्र उपाय भएको नेपालको अडान रहेको उनको भनाइ छ ।
‘त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हालसम्म सामान्य छ । हाम्रा नियोगहरूले निरन्तर अपडेट दिइरहेका छन्,’ उनले बताए ।
सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा गठन गरेको विशेष कार्यदलले संकटको समयमा ऊर्जा र अन्य क्षेत्रमा चाल्नुपर्ने कदमबारे प्रतिवेदन बुझाइसकेको र सरकारले त्यसको कार्यान्वयन सुरु गरिसकेको समेत जानकारी उनले दिए । विशेषगरी, स्ट्रेट अफ हर्मुज जलमार्गको सुरक्षा र त्यहाँबाट हुने आपूर्ति व्यवस्थामा पर्न सक्ने असरबारे नेपाल सजग रहेको प्रवक्ता क्षेत्रीको भनाइ छ ।
परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणका क्रममा भएका छलफलका बारेमा पनि प्रवक्ताले स्पष्ट पारे । हवाई रुट, जलस्रोत र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि भारतको सहयोगका विषयमा गम्भीर कुराकानी भएको उनले बताए ।
तर, कतिपय विषयहरू कानुनी र प्राविधिक प्रक्रियामा रहेकाले ठोस परिणाम आउन समय लाग्ने संकेत उनले दिए ।
मन्त्रालयले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रवक्ता क्षेत्रीका अनुसार, प्रधानमन्त्रीको निर्देशनमा नेपालीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत नयाँ दिल्ली लैजाने सबै तयारी पूरा गरिएको थियो ।
काठमाडौंस्थित भारतीय दूतावास र दिल्लीस्थित नेपाली दूतावासले रातभर समन्वय गरे पनि चिकित्सकहरूले बिरामीको अवस्था अत्यन्तै नाजुक भएकाले उडाउन नमिल्ने सल्लाह दिएका थिए । उपचारकै क्रममा उनको निधन भएकोमा मन्त्रालयले श्रद्धाञ्जली व्यक्त गरेको छ ।






प्रतिक्रिया