
काठमाडौं । नेपाल पर्यटन बोर्डले वेलनेस रील प्रतियोगिता २०२६ का विजेताहरूको नाम औपचारिक रूपमा घोषणा गरेको छ। नेपालको विविध वेलनेस पर्यटनका आयामहरूलाई सिर्जनात्मक भिडियोमार्फत विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा देशभरका सर्जकहरूबाट उत्साहजनक सहभागिता प्राप्त भएको छ।
प्रतियोगितामा कुल १११ जना प्रतिस्पर्धीहरूले योग, ध्यान, आयुर्वेद, आध्यात्मिक साधना, प्राकृतिक उपचार, वेलनेस रिसोर्ट तथा समग्र स्वस्थ जीवनशैलीसँग सम्बन्धित नेपालका विशिष्ट वेलनेस अनुभव समेटिएका मौलिक रील भिडियोहरू पेश गरेका थिए।
प्रतियोगितामा प्राप्त भिडियोहरूको मूल्याङ्कन प्रख्यात चलचित्र निर्देशक मिनबहादुर भाम तथा वेलनेस विज्ञ शोभिता सिम्खडा सम्मिलित निर्णायक मण्डलद्वारा गरिएको थियो। भिडियोहरूलाई विषयवस्तु, सन्देश, प्रभाव तथा आकर्षण, सौन्दर्य एवं कथा प्रस्तुति, र प्राविधिक गुणस्तर जस्ता मापदण्डका आधारमा निष्पक्ष रूपमा मूल्याङ्कन गरिएको थियो।
निर्णायक मण्डलको सर्वसम्मत निर्णयअनुसार सातै प्रदेशबाट विजेताहरू घोषित भएका छन्। कोशी प्रदेशबाट मीना कुमारी राउत, मधेश प्रदेशबाट सुमित्रा आचार्य, बागमती प्रदेशबाट एरिक नाकर्मी, गण्डकी प्रदेशबाट रोशन ढकाल, लुम्बिनी प्रदेशबाट भास्कर महर्जन, कर्णाली प्रदेशबाट सन्तोष बुढा तथा सुदूरपश्चिम प्रदेशबाट हिमालय भट्ट विजेता बनेका छन्। प्रत्येक प्रदेश विजेतालाई नगद ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
उत्कृष्ट सिर्जनात्मक प्रस्तुतिका लागि आशा पौडेललाई ‘जुरी अवार्ड’ प्रदान गरिएको छ। उक्त अवार्डअन्तर्गत उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछिन्।
रणजीत श्रेष्ठ, कैलाश कार्की, घुमन्ते बुढाबुढी, किरण अधिकारी तथा आश्रितलाई उत्कृष्ट सिर्जनात्मक प्रस्तुति र प्रभावकारी कथावाचनका लागि विशेष सम्मान प्रदान गरिएको छ।
विजेता तथा सम्पूर्ण सहभागीहरूलाई बधाई दिँदै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐरले प्रतियोगितामा प्राप्त उत्साहजनक सहभागिता र सिर्जनशीलताले नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावनालाई सुदृढ बनाएको बताए ।
सहभागी प्रत्येक सिर्जनाकर्ताले आफ्ना मौलिक अनुभवमार्फत नेपालको आध्यात्मिक सम्पदा, प्राकृतिक सौन्दर्य, उपचार परम्परा तथा स्वस्थ जीवनशैलीलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गरेको उल्लेख बोर्डले गरेको छ ।
वेलनेस रील प्रतियोगिता बोर्डले डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय वेलनेस पर्यटन गन्तव्यका रूपमा चिनाउने उद्देश्यले सञ्चालन गर्दै आएको अभियानको एक महत्त्वपूर्ण हिस्सा हो।
यो प्रतियोगिता बोर्डको ह्यास फोटोनेपाल अभियानअन्तर्गत सञ्चालन गरिएको हो, जसले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जीवनशैली तथा पर्यटन अनुभवलाई सिर्जनात्मक दृश्य सामग्रीमार्फत विश्वभर प्रवर्द्धन गर्दै आएको छ।






प्रतिक्रिया