ऋण नतिरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ कम्पनीको धितो लिलाम गर्दै, निकाल्यो ७ दिने सूचना

826
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बैंकबाट लिएको कर्जाको सावाँ तथा ब्याज बुझाउन अटेर गर्ने ऋणीहरूको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिने म्यादभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बैंकका अनुसार ऋणीहरूले बैंकसँग गरेको कर्जा सम्झौताका सर्त तथा बन्देजहरू उल्लंघन गरेको र पटक-पटकको मौखिक तथा लिखित ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नगरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र ऋण असुली ऐन, २०५८ बमोजिम धितो लिलाम गर्न लागिएको हो ।

बैंकले दुईवटा छुट्टाछुट्टै व्यावसायिक फर्म र तिनका सञ्चालक/जमानतकर्ताहरूको धितो लिलाम गर्न लागेको छ । मोरङको विराटनगरस्थित महावीर अटोमोबाइल्स रहेको छ । यससँग सम्बन्धित ऋणी महेश कुमार शर्मा, ओम प्रकाश शर्मा र अन्य जमानतकर्ताहरूको नाममा मोरङको कञ्चनबारी (वडा नं. ६) मा रहेको कित्ता नं. १३१२ को ०-२-१२-२ क्षेत्रफलको घरजग्गा लिलामका लागि राखिएको छ । यसको बोलपत्र विराटनगरस्थित महेन्द्रचोक शाखामा खोलिने बैंकले जनाएको छ ।

त्यसैगरी, दोस्रो सूचीमा काठमाडौंको धर्ती कम्प्युटर सर्भिसेज प्रालि र यसका सञ्चालकहरू सरोजिनी श्रेष्ठ, यजु श्रेष्ठ र विजेश रुद्र श्रेष्ठको धितो रहेको छ । यस अन्तर्गत ललितपुर उपमहानगरपालिका वडा नं. २ मा रहेको ८ आना ३ पैसा क्षेत्रफलको जग्गा र काठमाडौंको मातातीर्थ (वडा नं. ८) मा विभिन्न ८ वटा कित्ताहरूमा फैलिएको ठुलो परिमाणको जग्गा लिलाम गरिँदै छ । यी सम्पत्तिहरूको बोलपत्र काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालय, ऋण असुली विभागमा खोलिनेछ ।

इच्छुक व्यक्ति, फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको ७ दिनभित्र (असार २२ सम्म) आफूले लिन चाहेको रकम उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरू आगामी आगामी साउन १ गते दिउँसो ३ बजे तोकिएका स्थानहरूमा खोलिने बैंकले जनाएको छ ।

बैंकका अनुसार धितोमा रहेको सम्पत्ति जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा लिलाम गरिनेछ । यदि लिलाम प्रक्रिया अगाडि बढ्दै गर्दा ऋणीले सम्पूर्ण बक्यौता, ब्याज र हर्जाना रकम भुक्तानी गरेमा बैंकले लिलाम प्रक्रिया जुनसुकै समयमा रद्द गर्न सक्ने अधिकार समेत सुरक्षित राखेको छ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार बैंकमा निहित रहने सूचनामा उल्लेख छ ।