प्रहरी ज्यादतीका कारण गणेशले आत्मदाह प्रयास गरेको भन्दै राइडर्स युनियनले जनायो आपत्ति

147
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा राईड शेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति राईडर्स युनियन नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रशासनको ज्यादती र कार्यस्थलमा हुने विभेदका कारण श्रमिकले यस्तो चरम कदम चाल्न बाध्य भएको भन्दै युनियनले एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गरेको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपालमा प्ल्याटफर्म आधारित राईड सेयरिङ सेवा सुरू भएदेखि नै श्रमिकहरूले नि:शुल्क पार्किङ, पिउने पानी, शौचालय र विश्राम स्थल जस्ता आधारभूत भौतिक पूर्वाधारको माग गर्दै आएका थिए ।

तर, महानगरपालिका र प्रहरीले ट्राफिक व्यवस्थापनका लागि जरिवानालाई मात्रै मुख्य समाधान बनाउँदा न्यून आम्दानी भएका श्रमिकहरू सधैं आर्थिक र मनोवैज्ञानिक दबाबमा रहनुपरेको युनियनको ठहर छ । प्रहरीबाट हुने गरेको दुर्व्यवहार र विभेदकारी व्यवहारले गर्दा श्रमिकहरूले असुरक्षित महसुस गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालमा उपचाररत र जीवनसँग सङ्घर्ष गरिरहेका श्रमिक गणेश नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै युनियनले उनको उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न रोजगारदाता कम्पनी र सरकारसँग माग गरेको छ ।

यस घटनाबाट शिक्षा लिएर आगामी दिनमा प्ल्याटफर्म श्रमिकहरूको कार्य-वातावरण सहज, मर्यादित र सुरक्षित बनाउन युनियनले सरकारको ध्यानाकर्षण गराएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको सम्मान गर्दै सोको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गरिएको छ ।

श्रमिकहरूलाई भौतिक पूर्वाधार उपलब्ध गराउनुको सट्टा जरिवाना र दबाबमा मात्र केन्द्रित हुनुले यस्ता दुःखद घटना निम्त्याएको युनियनको निष्कर्ष छ ।