पप्पु कन्सट्रक्सनसहित ८ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

805
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने पप्पु कन्सट्रक्सन सहित ८ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई निश्चित अवधिका लागि कालोसूचीमा राखिएको जनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन कार्यालयको असार २५ गतेको निर्णयानुसार यी कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सूचना अनुसार, हुलाकी राजमार्ग निर्देशनालयको सिफारिसमा पप्पु/महादेव जे.भी. (पप्पु कन्सट्रक्सन र महादेव खिम्ती निर्माण सेवा) र श्रेष्ठ कन्सट्रक्सन कम्पनी (हेटौंडा) लाई सबैभन्दा बढी ३–३ वर्षका लागि कालोसूचीमा राखिएको छ । पप्पु कन्सट्रक्सनका मुख्य व्यक्ति सुमित रौनियार हुन् भने महादेव खिम्तीका रवि सिंह हुन् ।

त्यस्तै, ओखलढुङ्गाको सडक डिभिजन हर्कपुरको सिफारिसमा शुभम् निर्माण सेवालाई २ वर्ष र मयुमी कन्सट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतको सिफारिसमा हीरा नेपाली निर्माण सेवा पनि २ वर्षका लागि प्रतिबन्धित भएको छ ।

यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय कुश्माको सिफारिसमा भारत/सिद्धिसाई जे.भी. लाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

नेपाल खानेपानी संस्थान बुटवलको सिफारिसमा लुम्बिनी मोटर्स एण्ड पम्प इन्डष्ट्रिज र त्रिवेणी नगरपालिका बाजुराको सिफारिसमा ग्लोब ड्रग्स सप्लायर्सलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।