भारतको सिन्धिया राजपरिवारको ४० वर्षे सम्पत्ति विवाद अन्त्य: पशुपति शमशेर परिवारलाई १ खर्बको लाभ !

16.8k
Shares

काठमाडौं । भारतको सबैभन्दा शक्तिशाली र आर्थिक रूपमा सम्पन्न राजघरानामध्ये एक ग्वालियरको सिन्धिया परिवारमा विगत चार दशकदेखि चल्दै आएको ‘गेम अफ थ्रोन्स’ शैलीको सम्पत्ति विवाद अन्ततः नाटकीय रूपमा समाधानको दिशामा पुगेको छ।

भारतीय राजनीति र शाही विरासतको यो लामो कानुनी लडाइँ सुल्झिएसँगै यसको प्रत्यक्ष र ठूलो प्रभाव नेपालको राजनीति र आर्थिक क्षेत्रमा पनि पर्ने देखिएको छ । राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जंगबहादुर राणाकी पत्नी उषा राजे राणा (सिन्धिया) यस विवादको मुख्य हकदारमध्ये एक हुन् ।

४० वर्षपछि भएको यो ऐतिहासिक सम्झौतापछि उषा राजेको हिस्सामा आउने सम्पत्तिले राणा परिवारको आर्थिक हैसियतमा निकै ठूलो बढोत्तरी हुने सुनिश्चित भएको छ ।

यो विवादको सुरूवात सन् १९६१ मा महाराजा जीवाजीराव सिन्धियाको निधनबाट सुरु भएको थियो । उनीपछि उनकी पत्नी राजमाता विजयाराजे सिन्धिया, छोरा माधवराव र चार छोरीहरूबीच सम्पत्तिको विषयलाई लिएर तिक्तता बढेको थियो । सन् १९८४ मा राजमाताले आफ्नै छोरा विरुद्ध मुद्दा हालेपछि सुरु भएको यो कानुनी लडाइँ ग्वालियर, दिल्ली, मुम्बई र पुणेका विभिन्न अदालतहरूसम्म पुगेको थियो ।

मुद्दा चलिरहँदा मूल वादी र प्रतिवादीहरूको मृत्यु भएपछि अहिलेको पुस्ताका ज्योतिरादित्य सिन्धिया र उनका फुपुहरू बसुन्धरा राजे, यशोधरा राजे र उषा राजेबीच यो लडाइँ जारी थियो ।

सन् २०२० मा ज्योतिरादित्य सिन्धिया भारतीय जनता पार्टीमा प्रवेश गरेपछि बदलिएको राजनीतिक समीकरणले अन्ततः पारिवारिक मेलमिलापको ढोका खोलेको भारतीय सञ्चारमाध्यम भाष्करले जनाएको छ । ।

सम्पत्ति बाँडफाँडका लागि दुवै पक्षबीच अहिले एउटा व्यवहारिक ‘फर्मुला’ तय गरिएको छ, जसलाई ‘जसको कब्जा, उसकै स्वामित्व’ भनिएको छ । यस सुत्र अनुसार, ऐतिहासिक रूपमा वा कागजी रूपमा जोसुकैको नाममा भए पनि हाल जुन महल, बंगला वा जमिनमा जुन पक्षको भौतिक उपस्थिति छ, त्यसैलाई अन्तिम स्वामित्व मानिनेछ ।

यस आधारमा दिल्लीको सफदरजंग रोडमा रहेको बहुमूल्य ‘सिन्धिया पोटरिज’ को जग्गामा निर्मित विलासी बंगला अब आधिकारिक रूपमै उषा राजे राणाको स्वामित्वमा जानेछ ।

ग्वालियरस्थित जय विलास प्यालेसको विशाल परिसर, मुम्बईको समुद्र किनारमा रहेका महँगा फ्ल्याटहरू, पुणेको पद्मा विलास प्यालेस र दिल्लीका अन्य ठूला कोठीहरू पनि यसै सम्झौताको परिधिभित्र समेटिएका छन् ।

यस सम्पत्ति विवादमा अर्को एउटा अत्यन्तै महत्वपूर्ण र आध्यात्मिक पक्ष पनि जोडिएको छ । राजमाता विजयाराजे सिन्धियाले जीवनभर पूजाआजा गरेको पन्नाबाट बनेको अत्यन्तै दुर्लभ र बहुमूल्य शिवलिंग अहिले राजस्थानकी पूर्व मुख्यमन्त्री बसुन्धरा राजेको संरक्षणमा छ ।

नयाँ सम्झौता अनुसार यो ऐतिहासिक शिवलिंग अब ज्योतिरादित्य सिन्धियाको जिम्मामा जाने सहमति भएको छ। यद्यपि, ३०० पाना लामो सूचीमा रहेका ६२३ किलो सुन, ३३२ किलो चाँदी र ९औं देखि १४औं शताब्दीका अमूल्य चित्रकलाहरू भने परिवारका सदस्यहरूबीच भागबन्डा गरिनेछ ।

आर्थिक दृष्टिकोणबाट हेर्दा यो सम्झौताको आकार अकल्पनीय देखिन्छ । विभिन्न रिपोर्टहरूले सिन्धिया परिवारको कुल सम्पत्तिको मूल्यांकन १० हजार करोड भारु भन्दा बढी रहेको देखाएका छन् । यो कुल सम्पत्ति नेपाली रुपैयाँमा करिब १ खर्ब ६० अर्ब बराबर हुन आउँछ ।

यस हिसाबले पशुपति शमशेर राणाकी पत्नी उषा राजे राणाको हिस्सामा आउने सम्पत्तिको बजार मूल्य ४० अर्ब देखि १ खर्ब नेपाली रुपैयाँ सम्म पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, प्राप्त हुने सम्पत्तिको वास्तविक र आधिकारिक मूल्य अदालतको अन्तिम प्रमाणीकरणपछि मात्र सार्वजनिक हुने भारतीय सञ्चारमाध्यम द प्रिन्टले जनाएको छ ।

अब यो सम्पूर्ण विवादलाई कानुनी रूपमै समाप्त पार्न ज्योतिरादित्य सिन्धियाले ग्वालियर जिल्ला अदालतमा औपचारिक निवेदन दिइसकेका छन्, जसको सुनुवाइ हुँदैछ । उषा राजे र अन्य फुपुहरूका तर्फबाट पनि आउने हप्ता अदालतमा सहमति पत्र पेश गरिने तयारी छ । यो सम्झौताले विगत ४० वर्षदेखि अदालतमा अल्झिएका एक दर्जनभन्दा बढी मुद्दाहरूको अन्त्य गर्ने छ ।